Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सभापति हुने नभए किन राजनीति गर्नेः शशांक

काठमाडौँ, फाल्गुन ६ गते  ।  कांग्रेस सभापतिको निधन, कोइराला परिवारको लिगेसी र आसन्न महाधिवेशनका विषयमा कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य शशांक कोइरालासँग अन्नपूर्णकर्मी गोविन्द परियारले गरेको कुराकानी:

महाधिवेशनको सन्निकट कांग्रेस सभापति सुशील कोइरालाको निधन भएको छ, यसले कस्तो असर पार्ला ?  


सभापतिको निधनपछि सम्पूर्ण पार्टीका कार्यकर्ताले रिक्तता अनुभव गरेका छन् । निष्ठाको राजनीति र सिद्धान्तमा अड्ने नेता भएकाले पनि उहाँको अभाव खट्किनु स्वाभाविक हो । यो एउटा तरंग पनि हो, जसले हामीलाई साहस र जोस पनि दिन्छ । सिद्धान्तमा अडेर शीर्ष स्थानमा पुग्ने व्यक्तिको नेतृत्वमा परिवर्तन पनि ल्याउन सकिँदो रहेछ भन्ने सन्देश दिएको छ ।


महाधिवेशन सधैँ नीतिभन्दा पनि नेता छान्नमा केन्द्रित देखिन्छ नि ?       


महाधिवेशन पदाधिकारी चयनका लागि मात्रै होइन, यसलाई पार्टीभित्र ‘रिट्रिट' को रूपमा पनि लिनुपर्छ । महाधिवेशन सबैको पुनर्मूल्यांकन पनि हो । कांग्रेस स्थापनाकालदेखि अहिलेसम्मको ७० वर्षमा केके त्रुटि भए, चुनौती केके छन् भन्नेबारे समीक्षा हुनुपर्छ ।


पार्टीलाई पुनर्मूल्यांकन गर्ने छाँट देखिँदैन, झन्झन् गुट–उपगुट बढ्दैछन् त ? 


महाधिवेशनलाई सभापतिको निधनपछिको रिक्तता, तिक्तता र मतभेद मेट्ने अवसरका रूपमा सदुपयोग गर्नुपर्छ । कांग्रेस एक छ भन्ने सन्देश दिन पनि सबै एक भएर अघि बढ्नुपर्छ ।


देशभर दुईखेमामा विभाजित पार्टीलाई कसरी एक बनाउन सकिन्छ ?       


सकिन्छ, गिरिजाबाबु हुँदादेखि नै मेरो प्रयास यसैमा थियो र छ । गिरिजाबाबु र शेरबहादुर देउवाको नेतृत्वमा रहेका दुई पार्टीलाई एकीकरण गराउन मैले ठूलो प्रयत्न गरेको थिएँ । उहाँहरूलाई महाराजगन्जस्थित आफ्नै निवासमा तीनपटक भेट गराएको थिएँ । एकतामा पार्टीको भविष्य छ भन्ने भावना सबैमा भयो भने तिक्तता मेटिनेछ । महाधिवेशनले त्यो सन्देश दिनेछ ।


तेह्रौँ महाधिवेशनले गुट–उपगुटको अन्त्य गर्छ त ?       


गएको आइतबार पनि शेरबहादुरजीसँग भेट भएको थियो । उहाँसँग मैले त्यही आग्रह गरेको छु— महाधिवेशनलाई अवसरका रूपमा सदुपयोग गरौँ । गिरिजाबाबु र सुशील दा हुनु हुन्न, देउवाको आलोचक को छ त ? त्यसैले पार्टीलाई एक ढिक्का बनाउने भूमिका देउवाको पनि हो । त्यसैले हामी सबै एक भएर जानुपर्छ ।


पार्टी त एउटै होइन र, कस्तो एकता ?       


पार्टीभित्र रहेको ६० र ४० को भागबन्डा मेटेर कांग्रेसलाई एक बनाउन मेरो प्रयास हुनेछ । बलिदान गर्न पनि सक्नुपर्‌यो । पार्टीलाई जीवन्त राख्न बीपी कोइरालाले कति ‘स्याक्रिफाइस' गर्नुभयो ? त्यसैले कांग्रेस आजसम्म बाँचिरहेको छ । २०३० सालमा कार्यकर्तामा ‘डलनेस' आइसकेको थियो । हामी बनारसमा थियौँ, परिस्थिति अप्ठ्यारो बन्दै थियो, बीपीले नयाँ तरंग दिनुभयो, मेलमिलापको नीति लिएर स्वदेश फर्कन्छौँ भनेर ।


०३६ सालको जनमतसंग्रह त्यसकै उपज थियो । बीपीले पराजय स्वीकार गरेर पनि प्रजातन्त्र आउँदैछ भन्नुभयो । कार्यकर्तामा ऊर्जा भरियो । प्रजातान्त्रिक मूल्य र आदर्श बोकेको पार्टीमा विचारमा ग्रुपिजम हुन्छ, तर हाम्रो समस्या व्यक्तिगत ग्रुपिजम हो । यसको अन्त्य हुनुपर्छ ।


व्यक्ति–व्यक्तिबीच हुने गु्रपिजमलाई एउटा लोकतान्त्रिक पार्टीले अन्त्य गर्न सम्भव छ ?       


कांग्रेसको चौधौँ महाधिवेशनमा पनि ग्रुपिजम हुन्छ, यो स्वाभाविक पनि हो तर पार्टीभित्र भागबन्डाको कुरा दुर्भाग्य हो । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, प्रतिस्पर्धाभन्दा पनि माथि उठेर मिलेर जाऊँ भन्ने मेरो धारणा हो ।


यसका लागि के–के छन् चुनौती ?       


चुनौती धेरै छन् । भूकम्प र नाकाबन्दीले मुलुक अप्ठ्यारो अवस्थामा छ । २००३ सालदेखि अहिलेसम्मको हाम्रो उपलब्धि भनेको प्रजातन्त्र मात्र हो । संघीयतालगायतका विषय ग्रहण गर्न बाँकी नै छ । गणतन्त्र भनेको ‘रि पब्लिक' अर्थात् पुनः जनतामा जानु हो । प्रजातन्त्र जोगाएर अब कसरी अघि बढ्ने भन्ने मुख्य चुनौती छ । त्यसैले पनि कांग्रेसमा तुस रहनु हुँदैन ।


ठूलो पार्टीको नाताले कांग्रेसले अन्य पार्टीलाई पनि सहमतिमा ल्याएर चुनौती सामान गर्नुपर्छ । बहुदललाई विश्वास गर्छौ भने अरू पार्टीलाई नाश गर्ने होइन, ठाउँ दिने हो । विरोधका स्वर नआए केको लोकतन्त्र ? एउटै पार्टी मात्र हुने भए निरंकुश कम्युनिस्ट र पञ्चायतजस्तो भइहाल्यो नि । यो सबैको सामना गर्ने चुनौती कांग्रेसको काँधमा छ ।


त्यसो भए महाधिवेशनमा शेरबहादुर देउवा र संस्थापनको मिश्रित समूह बन्छ ?       


यो हाम्रा लागि ठूलो अवसर हो । नेताहरूमा उदार दृष्टि भयो भने नहुने कुरै छैन । वाद र संवादलाई घनीभूत बनाएर मिलेर अघि बढौँ ।


त्यो सम्भावना नभए दुई प्यानल हुन्छ ?       


स्वस्थ प्रतिस्पर्धामा जाने हो भने पनि एकअर्कालाई मूल्यांकन गर्ने संस्कृतिको सुरुआत गर्नुपर्छ । सुशील कोइरालाले छोडेर गएको तरंग ग्रहण गर्दै हामीले प्रतिस्पर्धाबाट अघि बढ्नु नराम्रो होइन । त्यसैले पार्टीलाई एक ढिक्का बनाउन महाधिवेशनलाई अवसरका रूपमा सदुपयोग गरौँ भन्दै आएको हुँ ।


कांग्रेसको ६६ वर्षको इतिहासमा ५२ वर्ष कोइराला परिवारले नेतृत्व गरेको छ, अब त्यो समाप्त भएको हो ?       


कति वर्ष भयो भनेर समयतिर म जान चाहन्न, तर पार्टीमा कोइरालाहरूको योगदानलाई स्वीकार गर्नैपर्छ । बीपी कोइरालाभन्दा पनि पहिला कृष्णप्रसाद कोइरालाले सामाजिक परिवर्तन गर्ने अभियान चलाउनुभएको हो । बीपी विचारले कृष्णप्रसादले थालेको सामाजिक परिवर्तनको अभियानलाई राजनीतिक एकीकरण गरेको हो ।


त्यसलाई कसैले नकार्न सक्दैन । कोइराला परिवारको लिगेसी त छँदै छ । धरोहर भनेको विचारको हुन्छ, यो त विचारको लिगेसी हो । विचारमा हामी टिक्न सक्छौँ कि सक्दैनौँ भन्ने मुख्य विषय हो । बीपीसँग काम गरेका धेरै व्यक्ति अहिले पनि नेतृत्व तहमा देखिरहेको छु, यही नै हो कोइरालाको धरोहर र लिगेसी भनेको ।


कोइराला परिवारले ५२ वर्षसम्म पार्टी नेतृत्वमा बसेर के गरे त ? यो कार्यकर्ताले मूल्यांकन गर्ने हो । मलाई कांग्रेसका नेताकार्यकर्ता देख्नेबित्तिकै सबैलाई बीपीकै सन्तानजस्तो लाग्छ भने कांग्रेस, एउटा परिवार ।


राजनीतिमा प्रवेश कसरी गर्नुभयो ?


हजुरबुबा कृष्णप्रसादको सामाजिक र पिताजी बीपीको राजनीतिक अभियानबाट प्रेरित भएरै राजनीतिमा प्रवेश गरेको हुँ । मैले त्रिवि शिक्षण अस्पतालमा काम गरेँ । कार्यकर्ताको दबाब थियो, राजनीतिमा लाग्न । २०४६ सालमा आन्दोलन भयो । त्यो बेला हामी पनि सहभागी भयौँ । बीपीको नाममा एउटा आँखा केन्द्र बनाउने मेरो योजना थियो, त्यो योजना पूरा गरेँ । त्यसपछि राजनीतिमा जाने निर्णयमा पुगेँ ।


परिवारभन्दा बाहेक अरू कसले राजनीतिमा लाग्न प्रेरणा गर्‌यो ?


म धेरै प्रभावित भएको जयप्रकाश नारायणसँग हो । उहाँको घरमा गएर बसेको छु । उहाँ पूरै सादगी हुनुहुन्थ्यो । बीपीको उहाँ ‘मेन्टर' नै हुनुहुन्थ्यो । जयप्रकाश नारायणको कुरा सुन्दा समाजवादी भनेको के हो भन्ने बुझ्न सकिन्थ्यो । उहाँ भन्नुहुन्थ्यो— धर्म र जातिका आधारमा राजनीति गर्नु हुँदैन । म सानैदेखि भीमबहादुर तामाङ र रामलक्ष्मणकै काखमा खेलेकाले उनीबाट पनि प्रोत्साहित भएको हुँ ।


नेताको छोरा भएका कारण कुनै अप्ठ्यारो भोग्नुभएको छ ?       


स्कुलमा पढ्दा एक दिन रोएको थिएँ । एउटा साथीले मलाई भन्यो, तिम्रो बाउ त जेलमा छ रे । उसले सोच्यो होला चोरडाँका भएकाले जेलमा गएको । त्यसपछि म रोएँ । अनि प्रिन्सिपलले बोलाएर भनेका थिए— तिम्रा बाउ धेरै ठूलो काम गर्दैछन् ।


त्यसपछि म अलि ढुक्क भएँ । जेल भन्नेबित्तिकै अपराधी बस्ने ठाउँ भनेर सोच्ने परम्परा थियो । आमाले हामीलाई भारत लिएर गएकाले समाजले नकारात्मक रूपमा हेर्छ भनेरै हो । त्यो प्रेरणाको स्रोत परिस्थिति हो ।


राजनीतिबाहेक केमा रुचि थियो ?


साहित्यमा । रवीन्द्रनाथ टैगोरको ‘क्राइम एन्ड पोनिसमेन्ट' देखि लिएर लियो टल्सटायको साहित्यका किताब पढ्ने गर्थें । साहित्यका किताब पढ्न बुबाले हौसला दिनुहुन्थ्यो ।


कांग्रेसको सभापति हुने योजना छ कि छैन ?       


निश्चित रूपमा त्यो ठाउँमा पुग्ने हो । राजनीतिमा लागेर ठाउँमा पुगेपछि मात्रै परिवर्तन गर्न सकिन्छ । मैले भविष्य हेरिरहेको छु, युवा पुस्तालाई । नेपालमा ४० वर्षभन्दा कम उमेरको ६० प्रतिशत जनसंख्या छ । तिनीहरूको चाहना र आकांक्षाको सम्बोधन युवाले नै गर्नुपर्छ भन्ने हो । अहिले मभन्दा अग्रज र अनुभवी नेताहरू हुनुहुन्छ, उहाँहरूसँग सल्लाह लिनुपर्‌यो ।


जिल्ला–जिल्लाबाट चुनिएर आएका तीन हजारभन्दा बढी प्रतिनिधिको भावना के हो, त्यसलाई प्रभाव पार्नुपर्‌यो र उनीहरूले पनि मलाई प्रभाव पार्नुपर्‌यो । मेरो जीवनमरण मात्र होइन, संघर्ष पनि कांग्रेसभित्रै हुन्छ । अहिलेको अवस्थामा मूल्यांकन गर्ने नेता र कार्यकर्ताले हो । कुनै व्यक्तिले चाहँदैमा, चाहेको प्राप्त हुन्छ भन्ने ठान्नु हुन्न ।


सभापतिका लागि संस्थापनभित्रै दर्जन नेता आकांक्षी छन्, यसलाई कसरी व्यवस्थापन गर्ने ?


यो स्वाभाविक हो । आकांक्षा नभए किन राजनीति गर्ने ? सुशील कोइरालापछि शेरबहादुर, रामचन्द्र, प्रकाशमान, कृष्ण सिटौला, रामशरण महत, अर्जुननरसिंह केसीजी छन् । हाम्रै परिवारमा तीन (शशांक, सुजाता र शेखर) जना छौँ । हामीभन्दा सिनियर अरू व्यक्ति पनि छन् । लीला भाउजूलाई किन बिर्सने ?

विमलेन्द्र निधिको पनि लिगेसी छ, मेरोजस्तै । अहिले मिलेर अघि बढ्ने सुअवसर आएको छ, त्यसको सदुपयोग गर्नुपर्छ । सर्वसम्मत भयो भने झनै रामो । मेरो प्रयास यसैमा छ ।


तपाईं र प्रकाशमान सिंहसहितको समूह बनाएर जाने चर्चा पनि चलेको छ, यो सम्भव छ ?


प्रकाशजीले भन्नुभयो, ‘शशांक, हामी मिलेर जाऊँ ।' उहाँको कुरा राम्रो हो । बीपी र गणेशमानसँगसँगै हिँडेका हुन् । उहाँहरूबीचको आत्मीयता, स्नेह र मित्रता अहिलेको नेतामा देखिँदैन । गणेशमानले प्रधानमन्त्री पदसमेत त्याग्नुभयो । अहिले कसैले गर्न सक्छ त्यस्तो ? प्रकाशमानको विचार राम्रो हो । भोलिको नेतृत्व चयनमा कुन किसिमको समीकरण हुन्छ भन्ने प्रमुख नेता र प्रतिनिधिले निर्णय गर्ने हो ।


संविधान कार्यान्वयनको चरणमा छ, कांग्रेस संघीय संरचनाअनुसार पार्टीलाई अघि बढाउँछ ?       


परिवर्तन एक रातमा हुँदैन । विश्वको लिखित इतिहास दुई हजार वर्षजति भयो । अहिले हाम्रो पार्टीको जिल्ला अधिवेशन भइरहेका छन् । नयाँ संविधानमा जिल्लाको भूमिका समन्वयकारी मात्रै छ । एक वर्षअघि नै पार्टीको विधान संघीय पनि संरचनाअनुसारको हुनुपर्ने हो । अहिलेसम्म नयाँ संविधान ग्रहण गरिसक्नुपर्ने हो । मुखले मात्रै परिवर्तन भनेर भएन, व्यवहारबाटै परिवर्तन गर्न सक्नुपर्छ ।


महाधिवेशनमा कांग्रेसको विधान संशोधन हुन्छ ?       


हुनैपर्छ । नत्र हामी पुरानो र संविधान नमान्ने पार्टी हुन्छौँ । पार्टी नै असान्दर्भिक हुन्छ । संघीयतालाई ग्रहण नगरी कसरी अगाडि बढ्न सक्छौँ ? सातवटा प्रदेशमा पार्टीको संरचना कस्तो हुनुपर्ने ? संघीय संरचनामा गएपछि प्रदेशका साथै केन्द्र पनि बलियो बनाउनुपर्छ । सन्तुलन कायम गर्न पनि विधान संशोधन जरुरी छ ।


पदाधिकारी बढाउन मात्र विधान संशोधन गर्न लागिएको भनिन्छ नि ?


अहिलेको परिस्थितिमा सबैलाई समेट्नुपर्ने एउटा पक्ष छ । यसको दीर्घकालीन असर के हुन्छ भन्ने पनि हेर्नुपर्छ । अहिले पदाधिकारी बढाउँदा भविष्यमा घटाउनुपर्ने अवस्था आयो भने के गर्ने ? कांग्रेसमा पाँच लाख क्रियाशील सदस्य छन् । बीपीको पालामा एउटा तरुण पत्रिका कोठामा राख्दा पनि जेल जानुपर्ने अवस्थाले उहाँले चौवन्ने, साधारण र क्रियाशील सदस्य पाउने नियम बनाउनुभएको थियो । वर्गीकरण किन भन्ने प्रश्न पनि उठ्थ्यो । सिनियर नेताको सम्मानकै लागि त्यसो गरिएको थियो । यसबारे आउँदो महाधिवेशनमा सोच्नुपर्छ ।


बीपीले परिकल्पना गरेको समाजवाद कांग्रेसी नेताका व्यवहारमा देखिँदैन नि ?


यो एकदम ठीक हो । अक्सफाम भन्ने संस्थाको तथ्यांकअनुसार एक प्रतिशत जनसंख्यासँग विश्वको ९९ प्रतिशतभन्दा बढी सम्पत्ति छ । ६५ जनाको सम्पत्ति ५० प्रतिशतभन्दा बढी छ । यो गरिब र धनीबीचको खाडल किन बढ्यो ? बीपीले प्रतिपादन गरेको समाजवाद आजको वास्तविकता हो । यो अझै पुरानो भएको छैन । वास्तविक समाजवाद अँगाल्न हामी चुकेका छौँ । बीपीले प्रतिपादन गरेको समाजवाद भनेको आर्थिक र सामाजिक क्षेत्रमा देखिने गरी हुने सुधार नै हो । महाधिवेशनमा यसबारे गम्भीर बहस हुनुपर्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget