Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चुरोटको धुवाँसँगै उड्न के बेर ?



विनोद भण्डारी ,

“ओइ तेरो ब्वाइफ्रेन्ड आएन आज ?”
“नकरा ।”
“भन् न भन् । कि ब्रेकअप भयो ?”
“भा’छैन ब्रेकअप । आज सन्चो छैन उसलाई ।”
“ए होर । आजको लागि नयाँ खोज्ने होला अब ।”
“चुप लाग् । चुरोट दिनुस् त अंकल ।” 
त्यस्तै नौ दश कक्षामा पढ्ने एक जना किशोरीले भनी । चिया पसलेले चुरोट दिए । उसले सल्काइ । धुवाँ फुस्स माथि उडाउँदै बेन्चमा बसी ।
त्यस चिया पसलमा भएका तीनवटा बेन्चमध्ये सबैभन्दा पछिल्लोमा म छु । अगाडि स्कुल ड्रेसमा तीनजना केटीहरु अनि पाँच, छ जना केटाहरु छन् । मैले चिया र आलुचना मगाएर बसेको छु र उनीहरुको संवाद सुनिराखेको छु ।
“खै अंकल मलाई पनि एउटा चुरोट ?” अघि त्यो किशोरीसँग बोल्ने केटोले भन्यो ।
चुरोट दिँदै चिया पसलले भने, अरु के खाने ? केहीले चिया, केहीले आलुचना भनें ।
त्यो केटोले चुरोट तानेर धुवाँ माथि उडाउँदै मेरो अघिल्लो बेन्चमा वस्यो । धुवाँ मतिर आयो । मैले नखाने भएकाले म अलि पर छेउतिर सरें ।
“ओए ले त” भनेर अरु केटाहरुले पनि त्यही चुरोट हातमा लिएर ताने । र केटीहरुले पनि त्यसै गरे ।
मैले स्कुले विद्यार्थीहरुले चुरोट तानेको धेरै देखेको छु । काठमाडौं का विभिन्न चिया पसलहरुमा त्यो सामान्य जस्तै भइसकेको छ । तर केटीहरुले त्यसरी तानेको चाहिँ खासै देखेको थिइन । 
लिनुस् भनेर ती पसलेले मलाई एक गिलास चिया र एउटा प्लेटमा आलुचना ल्याएर दिए । मैले चिया पिउन थालें । यत्तिकैमा अगाडि बस्ने अर्की एकजना केटीको फोन बज्यो ।
“हेल्लो ।” 
“ अँ भन राजेश ।”
“हो र आउँदैनौ स्कुल त्यसोभए ?”
“म पनि आउने ? कहाँ ?” 
“नाइ के स्कुल छ नि ”
“उम् ल ल त्यसोभए आउँछु ।”
फोन राखी ।
“के भन्छ तेरो राजेशले ?”अर्कीले सोधी ।
“उ आउँदैन रे आज स्कुल । मलाई बलाछ कलंकी, म जान्छु है ।” उसले भनी ।
“वा वा ... के हो यस्तो हँ । दुइजना भएर घुमघाम मस्ती छ त ?” एक जना केटोले भन्यो ।
“चुपलाग” भनेर उसले चुरोट तानी । “ हामी मात्र सिंगल भइयो यार,” अर्कोले थप्यो ।
अघि तानेको चुरोटको धुँवा नाकवाट माथि उडाउँदै उसले भनी “ल है गएँ म त, एटेन्डेन्स् गर्न मिलेपार गर्दे है ।” उ लागि ।
चिया पसलेले तिनिहरुलाई चिया र आलुचना दिए । उनीहरुले खान थाले ।
“ओइ त्यो म्याथ सर कति गुण्डा जस्तो है ? ” एउटाले भन्यो ।
“अँ यार हेर्दा नि त्यस्तै लाग्छ मलाइ पनि । खालि होमवर्क मात्र बढी दिन्छ । गाली मात्र गर्छ ।” एकजना केटीले भनी ।
“त्यो भर्खर आएको साइन्स सर चै क्या हेण्सी है ।” अर्को केटोले भन्यो ।
“अँ है मलाई नि मन पर्छ त्यो सर त लास्टै ।” तिनिहरुमध्ये अर्की एक केटीले भनी ।
“त्यसो भए पर्पोज गर्दे सरलाई ।”
“धत् ।”
सबैजना हाँसे । 
“ओइ रमेश हिजो चाहिँ मजा आयो है । तैले पिटाइ खाँको देखेर ।” काँधमाथि धाप मार्दै एउटाले अर्कोलाई भन्यो । 
“नकरा ।”
“अनि म्याथसरको पिरेडमा नि गेम खेल्ने हो त ?” अर्कोले भन्यो ।
“के गर्ने त क्लासवर्क देको थ्यो, गर्न आएन । यत्तिकै बस्न अल्छी लाग्यो, अनि खेलेको नि मोवाइलमा ।”
“अंकल अर्को चुरोट दिनुस् त ?” उसैले भन्यो । चिया पसलेले चुरोट दिए ।
“कति खान सकेको चुरोट पनि ?”
 “के गर्ने यार बानी नै लाइसक्यो । तँ खान्छस् अर्को ?”
“खान्न ।”
उसैको फोन बज्यो ।
“हेल्लो‍..  अँ अनुप, भन् .. कहाँ फिलिम हलमा ? .. कुन मुभि ? ... कतिबेलाको ? .. ए होर ? स्कुल छ त । हँ ? ए ल ल म सबैलाई लिएर आउँछु ।” उसले फोन राख्यो ।
“अनुपहरु सिभिल मलमा छन् रे, फिलिम् हेर्नलाई । हामी सबैलाई बोलाँछन् । नयाँ मुभी लागेको छ रे । जाम है सबैजना ।”
“ अनि स्कुल नजाने ।” एकजना केटीले भनी ।
“ सबैजनालाई बोलाछ अनुपले । कहिलेकाहीँ त हो नि । जाम, मस्ती हुन्छ । के गइराख्नु स्कुल पनि सधैं जाने त हो ।” चुरोट तानेर नाकबट धुवाँ माथि उडाउँदै उसले भन्यो ।
सबैले आ आफ्नो पैसा तिरे र लागे, स्कुल ड्रेसमा ।
मेरो पनि आलुचना खाएर सकियो । अघि उनीहरुले तानेका थुप्रै चुरोटको धुवाँको गन्ध अझै आइरहेको थियो ।
चुरोट तान्नु आफैमा नराम्रो बानी त हो अनि अधिकांश मान्छेले चुरोट तानिरहेकै पनि  हुन्छन् । तर यति सानै उमेरमा चुरोट तानेर उनीहरु कतै आफ्नो भविष्यलाई डढाउँदै त छैनन् । व्याइफ्रेन्ड गलफ्रेण्ड बनाउने उनीहरुको यो उमेर पटक्कै होइन । यही व्वाइफ्रेण्ड, गलफ्रेण्डको चक्करमा उनीहरु आफ्नो मस्तिष्कलाई अनावश्यक ठाउँमा लगाइरहेका छन् ।
एउटा व्याइफ्रेण्डको आग्रहलाई मानेर स्कुल छोडेर घुम्न जाने किशोरीले आफ्नो पढाइमा कसरी राम्रो गर्न सक्छे ? हातमा कापी कलम भन्दा मोवाइल बढी बोकेर क्लासमै गेम खेल्नेले पक्कै  राम्रो भविष्य कोरिरहेको छैन ।
अनि जब पढ्नलाई आएका उनीहरु स्कुलड्रेसमै फिल्म हेर्न जान बढी लालायित हुन्छन् भने उनीहरुभित्र सिक्ने क्षमतामा धमिरा लाग्न के बेर ? चलचित्र हेर्ने, गाना सुन्ने, घुम्ने रमाउने आफ्नो ठाउँमा ठीकै हो र यो उमेरमा अलि बढी गर्न मनलाग्नु अस्वभाविक पनि हैन तर त्यो ठीक समयमा गरिनुपर्छ ।
स्कुल, कलेज भन्दा व्याइफ्रेण्ड, गलफ्रेण्ड वढी महत्वको विषय नहोस् । हातमा कलम भन्दा चुरोट बढी नहोस् । त्यो चुरोटको धुँवा सँगै उनीहरुको बाल मस्तिष्क अनि सिक्ने सबैभन्दा सिर्जनशिल उमेर खेर नजाओस् । 
 - उज्यालो अनलाइनबाट 
Labels:

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget