विराटनगर उपमहानगरपालिकाले जगेडा कोषबाट रु ६० लाख उपलब्ध गराएपछि विराटनगरमा पुनः बधशाला निर्माणको काम सुरु भएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
आव २०६५÷६६ मा सरकारबाट बजेट निकासा भएपछि उपमहानगरपालिका–११ स्थित हाटखोलामा बधशाला निर्माण कार्य सुरु गरिएको थियो तर बजेट अभावमा बधशाला निर्माण रोकिएको थियो ।
नगरवासीलाई स्वस्थ मासु बिक्रीका लागि उपयुक्त स्थान बनाउने उद्देश्यले बधशाला निर्माण थालिएको हो । तर बजेट नै नभएको भन्दै निर्माण कार्य अलपत्र बनेको थियो । बधशाला निर्माणमा उपमहानगरपालिकाको रु १८ लाख खर्च भइसकेको उपमहानगरपालिका पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवले बताउनुभयो ।
विराटनगरमा उपमहानगरपालिकामा दर्ता तथा अनुमति लिएका २०० वटा मात्र मासु पसल सञ्चालित छन् । व्यवस्थित बधशाला बिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ समेत कार्यान्वयन हुन नसक्ने पूर्वाञ्चल क्षेत्रीय पशु सेवा कार्यालयका अधिकृत डा अशोक सिंहको भनाइ छ ।