धनकुटा, १३ जेष्ठ। धरान-धनकुटा सडकखण्ड अन्तरगत धनकुटाको भेडेटारमा आज दिउँसो मारुती भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने भ्यानमा सवार एक महिला घाइते भएकी छिन।
मुलघाटबाट भेडेटारतर्फ आउदै गरेको को १ च ४६७३ नम्बरको मारूती दिउँसो १२ बजेतिर भेडेटार ३ मा अनियन्त्रित भई सडकबाट करिब बिस फिट तल खसेको थियो।
दुर्घटनामा परी भ्यान चालक धनकुटा आँखिसल्ला २ बस्ने ३८ वर्षिय राजकुमार मगरको सोही भ्यानले किचेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ। दुर्घटामा गम्भीर घाइते आँखिसल्ला ९ की ३२ वर्षिया सुमित्रा राईलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको उक्त कार्यालयले जनाएको छ।
त्यसैगरी धनकुटाकै सिधुवा गाविसमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन।
तेह्रथुमको बसन्तपुरबाट धनकुटातर्फ आउदै गरेको को १ प ७६९२ नम्बरको मोटरसाइकल सिधुवा गाविस ४ मा सडकबाट अन्दाजी ५० मिटर तल खस्दा मोटरसाइकलका चालक बसन्तपुर ४ बस्ने ४० वर्षिय राम बहादुर राय र पछाडि सवार १८ वर्षिया तारादेवी राय गम्भीर घाइते भएका हुन।
घाइते दुबैलाई उपचारकालागी धरान घोपा पठाईएको प्रहरी चौकी सिंधुवाले जनाएको छ।