
विराटनगर, जेठ ८ ।
पूर्वाञ्चलमा यस वर्ष खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्तरुपमा सञ्चित गरिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ संस्थानले धानबाली खेतीका लागि पर्याप्त मल सञ्चित गरेको हो । कृषि सामग्री कम्पनीको गोदाममा १४ हजार मेट्रिक टन युरिया, चार हजार ३०० मेट्रिक टन डिएपी र २६२ मेट्रिक टन पोटास रहेको सो कार्यालयले जनाएको छ । मोरङ जिल्लाका लागि आठ हजार ३०० मेट्रिक टन युरिया, दुई हजार ३०० मेट्रिक टन डिएपी र ७० मेट्रिक टन पोटास भण्डारण गरिएको हो । तेस्रो मुलुकबाट आयातीत रासायनिक मल कोलकोत्ता बन्दरगाह हुँदै विराटनगर भित्रिने गर्छ । शनिवार थप पाँच हजार मेट्रिक टन मल भित्रिने सो कार्यालयका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । पूर्वाञ्चलको धनकुटा, इटहरी, इलाम, विर्तामोड, लहान, राजविराज र गाईघाटको गोदाममा आवश्यकता अनुसार मल यतिखेर मौज्दात छ । पूर्वाञ्चल क्षेत्रमा यस वर्ष धानखेतीका लागि पर्याप्त मल उपलब्ध हुने देखिएको छ ।