झापा, जेठ ३ ।

जिफन्ट मेचीका अध्यक्ष सन्तकुमार राईले ट्रेड युनियन गठन गर्न पाउने अधिकार कुण्ठित गर्दै अस्पताल प्रशासनले कर्मचारीमाथि गैरजिम्मेवार व्यवहार गरेको बताउनु भयो । अस्पतालमा कार्यरत कर्मचारीले नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन स्थापना गरेपछि अस्पताल प्रशासन रुष्ट छ ।
युनियनकी अध्यक्ष कविता कार्कीले सङ्गठनमा आवद्ध सदस्यहरुलाई विभिन्न बहाना बनाएर अस्पताल प्रशासनले निष्कासन गर्न थालेको बताउनु भयो । पछिल्लो समय युनियनमा आवद्ध दुई जना कर्मचारी जागिरबाट निकालिएका छन् । युनियन गठन गर्न पाउने कर्मचारीको मौलिक हक खोस्ने अस्पताल प्रशासनको कदम गलत भएको राईले बताउनु भयो ।
निष्कासित कर्मचारी पुनर्वहालीको माग गर्दै युनियनले चरणवद्ध आन्दोलन गरिरहेको छ । पहिलोपटक भएको वार्तामा कर्मचारी पुनर्वहालीको माग अस्पताल प्रशासनले अस्वीकार गरेपछि विना निष्कर्ष टुङ्गिएको थियो ।