Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मौसमी राष्ट्रवाद



मणि शर्मा
हाम्रा नेताहरूसँग मेल खाने हिटलरको एउटा चर्चित भनाइ छ, 'तिम्रो चरित्रलाई बगैँचा जस्तो नबनाऊ, जहाँ सबै हिँड्न सकून् बरु तिम्रो चरित्रलाई आकाश जस्तो बनाऊ, जहाँ सबै पुग्ने सपना देख्छन्।'
 
नेपालमा राजनीतिक अस्थिरता र भारतसँगको बढ्दै गएको चिसो सम्बन्धको मूल कारक नै बाह्रबुँदे सहमति हो। भारतविना आफ्नो प्राणवायु नै सञ्चार हुन नसक्ने ठान्ने नेता नै अहिले आएर प्रखर राष्ट्रवादी हुँदै अघोषित रूपमा भारतसँग शीतयुद्धको जस्तो वातावरण बनाएका छन्।
 
००७ सालदेखि ०६२÷६३ सम्मको जनआन्दोलन र जनयुद्धमा भारतको शरण र सहयोग लिँदै तथाकथित राजनीतिक नायक बनेकाहरू हिजो भारतले नै नेपालमा हस्तक्षेप गरेर उनीहरूको आन्दोलन सफल पारिदिऊन् भनेर याचना गरेका थिए। भारतीय हस्तक्षेपकै कारण ती आन्दोलन सफल हुन गयो।
 
केही दिएपछि बढी लिने शक्तिशालीहरूको चाहना हुनु स्वाभाविक नै हो। हिजो भारतमा बसेर उसको सहयोग र हस्तक्षेपले आन्दोलन सफल पार्ने र जनयुद्धलाई सुरक्षित अवतरण गर्नेहरूले नै भारतमै उनीहरूले तयार पारी दिएको सहमति र सम्झौताहरूमा दस्तखत गरेर भारतलाई नेपालको सूक्ष्म व्यवस्थापन गर्ने निम्तो दिने, आज आएर आफ्नो स्वार्थअनुकूल भारत भएन भनेर उसलाई सत्तोसराप गर्ने र राष्ट्रियताको मौसमी जामा लगाएर राष्ट्रवादी बनेर नेपाली जनताको वाहवाही लुट्नु कुनै बहादुरी होइन।
 
आज भारतको नेपालमाथिको प्रत्यक्ष हस्तक्षेप र यहाँको शासन व्यवस्थामा उसले गर्न चाहेको सूक्ष्म व्यवस्थापनमा धक्का लागेपछि भारत बौलाएको हो। नेपाललाई आफ्नो प्रान्तसरह ठान्ने भारतलाई नेपालमाथि हावी हुन दिने बाह्रबुँदेका हस्ताक्षरकर्ता नै हुन्। पश्चिमा र्शिक्तले पनि नेपाली नेताहरूको मनोविज्ञानलाई बुझेरै आफ्नो चाहनाअनुसार नेपालमाथि सूक्ष्म व्यवस्थापन गर्ने जिम्मा भारतलाई दिएको हो।
 
हिजो ४० लाख भारतीयहरूलाई नागरिकता दिने विधेयक ल्याउने पनि यिनै बाह्रबुँदेका हस्ताक्षरकर्ताहरू नै हुन्। त्यसैले त्यसको एउटा पक्ष एक मधेस एक प्रदेश माग्दै राष्ट्र विखण्डनको तयारी गरिरहेको छ भने अर्को पक्ष दुई ध्रुवमा बाँडिएर एउटा भारतकै छोरा हुँ भन्दै उसको आदेश मान्न तयार छ भने अर्को पक्षमा मौसमी राष्ट्रवादको भूत सवार भएको छ।
 
यो सरकार राष्ट्रवादी हो भने किन सीमा समस्याको मुद्दा उठाएर टुंगो लगाउन अग्रसर छैन? भारतले नेपालबाट उसको सुरक्षामाथि खतरा छ भन्दा किन यो सरकार सीमा विवाद मिलाऊ र सीमामा पर्खाल वा तारबार लगाऊ भन्न सक्दैन? किन यो सरकार कालापानीलगायत पैँसट्ठी हजार हेक्टर नेपाली भूभागलाई भारतीय अतिक्रमणबाट मुक्त गर्न सकेको छैन?
 
भारतले नमाने किन अन्तर्राष्ट्रिय मञ्चमा गएर यो मुद्दाको छिनोफानो गर्न सकेको छैन? अनि कसरी भन्ने यो सरकार राष्ट्रवादीहरूको सरकार हो भनेर ?        आफ्नो स्वार्थ भए भोलि भारतको पाऊमा शिर निहुराउन बेर छैन, मौसमी राष्ट्रवादीहरूले।
 
केपी ओलीमा एउटा भ्रम छ- उनको नेतृत्वको सरकारलाई भारतले गिराउन खोजे नेपाली जनता एक भएर त्यसविरुद्ध उठ्ने गरेका छन्। किनकि उनी राष्ट्रवादी हुन्। यो ओलीको भ्रम सिवाय केही होइन। 
 
नेपाली जनताले ओलीलाई उनले दिएको हजारौँ दुःख र सास्ती झेल्दै पनि यसकारण समर्थन गरिरहेका छन् कि यो सरकारलाई भारतले होइन नेपालका नेताहरूले आफ्नो बलबुताले बनाएको हो भनेर। भारतीय हस्तक्षेपविरुद्ध नेपाली जनतामा अहिले विद्रोहको आगो सल्केको छ। त्यसैको परिणाम हो, ओली सरकारलाई समर्थन। आज ओलीको ठाउँमा अरू भए पनि नेपाली जनताले उसलाई साथ दिने थिए।
 
ओलीमा अर्को भ्रम छ- ऊ अहिले नेपालको नायक हो, सच्चा राष्ट्रवादी हो। त्यस्तै पुष्पकमल दाहाल हुन्, जसको चरित्र अस्थिर छ, जसमा पद र पैसाको अति लोभ छ, जसको प्राप्तिको लागि उनी जे पनि गर्न सक्छन्। एक दिनअगाडि आफू ओली सरकार ढालेर प्रधानमन्त्री बन्ने घोषणा गर्छन्। तर देउवाले उनलाई उधारो प्रधानमन्त्री बनाउने लिखित सहमति नगर्दा लुरुक्क फर्केर फेरि राष्ट्रवादी बन्छन्। 
 
त्यो पनि ओलीले उनलाई प्रधानमन्त्री बनाइदिन्छु भनेपछि र चौतर्फीरूपमा ओली सरकार ढाल्ने उनको षड्यन्त्रको विरोध हुँदा। नौबुँदे सहमति त एउटा बहाना हो, मुख्य उद्देश्य राष्ट्रवादीको जामा पहिरिएको प्रधानमन्त्री बन्ने उनको चाहना हो। 
 
जनयुद्धताकाको मुद्दा फिर्ता, सहिद, घाइते, पीडितलाई सहयोग त एउटा बहाना हो। उनी साँच्चिकै शेर जो उनी आफूलाई भन्ने गर्छन्, हुन् भने अहिले आएर जनयुद्धकालीन घटनाको छानविनलाई लिएर किन भिजेको बिराली बने ?    
 
राष्ट्रवादी कुनै नेता हुन् वा होइनन्, यसको फैसला इतिहासले नै गर्नेछ। स्वामी विवेकानन्दले भनेका छन्, 'आफ्नो प्रशंसा आफैँ नगर, यो काम तपाईंको सत्कर्मले आफैँ गर्नेछ।'
 
अत्यधिक बहुमतबाट गठित मोदी सरकार आफूलाई भारतीय उपमहाद्वीपकै शक्तिशाली मुखिया भनेर ठान्छ। भारतीय उपमहाद्वीपका अरू राष्ट्रहरू उसको गुलाम भएको घमण्ड गर्छन्, विशेषगरी नेपाल, बंगलादेश र भुटानलाई। अटल विहारी सरकारमा केन्द्रीय मन्त्री भइसकेका भाजपा नेता अरुण शौरीको शब्दमा मोदीको बारेमा भन्नुपर्दा 'मानिसप्रति उनको दृष्टिकोण प्रयोग गर र त्यसपछि फालिदेऊ।' 
 
मोदीले आफ्नै नेता र कार्यकर्ताप्रति यस्तो व्यवहार गर्छन् भने नेपालका नेताहरूप्रति कस्तो व्यवहार गर्छन् भन्नुपर्दैन। त्यही पनि हाम्रा नेताहरू बारम्बार उनको अगाडि झुकिरहेका छन्। भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतीय सदनमा नेपालका प्रमुख दलहरूका नेताहरूको नाम किटान गर्दै को-को उनीहरूलाई भेट्न आइरहन्छन्, विवरण पेस गरेकी छन्। 
उनकै शब्दमा दिनहुँजसो नेपालका नेताहरू उनीहरूलाई भेट्न दिल्ली धाउने गरेको सदनमा खोलिन्। जब हाम्रै नेताहरू नेपालमा हुँदा राष्ट्रवादी बन्ने र भारतमा गएर पछि तपाईंकै हुँ भन्दै शरण पर्ने गर्छन् भने भारतलाई मात्र किन सराप्ने ? 
भोको मान्छेको राष्ट्र हुँदैन। सस्तो र लोकप्रिय बजेट ल्याउँदैमा नेपालबाट बेरोजगार समस्या हल हुँदैन। खाडीलगायतका मुलुकमा रोजगारको तलासमा कमिलाका ताँती झैँ जानेहरूको कमी हुने छैन। नेपालमा उद्योगधन्दा खोलेर रोजगारको व्यवस्था गर्न सक्नुपर्छ।      
आफ्नो घरमा पर्खाल नलगाए छिमेकीहरूले घर कब्जा त गर्र्नै नै भए, आफ्नै घरको इज्जतलाई दिल्लीमा लगेर लिलामी गरे भारतले हाम्रो सतित्व हरण गर्नै त भयो। दिल्लीमा गएर एकथरी सहमति, सम्झौता र समझदारी गरेर आउने यहाँ आएर राष्ट्रवादी बन्ने। जबसम्म नेपाली नेताहरूले दोहोरो चरित्र त्याग्दैनन्, भारतले हामीमाथि हस्तक्षेप गर्न छोड्ने छैन।
 
भारतको मुखमा एउटा छ, तर मनमा अर्को। ऊ आफूलाई नेपालको सच्चा मित्र भनेर थाक्दैन, तर मित्रताको प्रदर्शन गर्न सक्दैन। मित्र त्यो हो, जसले तपाईंको हात समाउँदा मुटु स्पर्श गर्छ। भारतले कहिल्यै यो अनुभूति नेपाललाई हुन दिएन।
 
नेताजी सुभाषचन्द्र बोस हिटलरलाई भेट्न जर्मनी गएका थिए। उनको कार्यालय बाहिर धेरै बेरसम्म पर्खेपछि हिटलर आएर उनीसँग बोले। बोसले भने, 'मलाई तपाईंसँग होइन, हिटलरसँग भेट्नु छ। त्यो मान्छे गयो अर्को हिटलर आयो, यसरी सातजना हिटलर उनलाई भेट्न आए। तर उनले भने मलाई तपाईंसँग होइन, हिटलरसँग भेट्नु छ।
 
हिटलरले आफ्नो सुरक्षाको लागि आफूजस्तै मान्छेहरूलाई नक्कली हिटलर बनाएर राखेका थिए। अन्तिममा आएको हिटलरले सुभाषचन्द्र बोसको कुममा हात राखे। त्यो मान्छेले हात राखेपछि सुभाषचन्द्र बोसले भने, 'हिटलर' यो सुनेर हिटलरले सोधे, 'तपाईंले कसरी मलाई चिन्नु भयो बोस ? ' नेताजीले जवाफ दिएका थिए, मेरो कुममा हात राख्ने हिम्मत हिटलरबाहेक अरू कसैको हुन सक्दैन।'
 
नेता भएपछि सही नेतालाई चिन्न सक्नुपर्छ। नेताजी भारतलाई स्वतन्त्र पार्न हिटलरको सहयोग माग्न गएका थिए, तर उनले सही हिटलरलाई चिनेर उनीसँग कुराकानी गरे।
 
००७ सालदेखि अहिलेसम्म भारतले जबजब नेपालमा प्रजातन्त्रको नाममा आन्दोलन भयो नेपालको दोहन र शोषण गर्न छोडेन र नेपालमाथि आफ्नो सूक्ष्म व्यवस्थापनलाई आफ्नो कब्जामा राख्न छोडेन। इतिहास सबै नेताहरूलाई थाहा छ। तर यहाँ राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत तथा पार्टीगत स्वार्थका लागि नेताहरू नेपालको स्वाभिमान बेचेर, राष्ट्रियताको लिलामी गरेर जनतालाई मूर्ख बनाउँदै आफ्नो स्वार्थसिद्धि गर्ने गरेका छन्। सही मित्र चिन्ने हाम्रा नेताहरू अन्धो हुन पुगेका छन्।
 
बाह्रबुँदे सहमतिको जग बेइमानीमा बनेको हुँदा नेताहरूबाट इमानदारीको आशा गर्नु बेकार छ। अहिलेको सत्तापक्ष राष्ट्रवादीहरूको हो भने नेपाल भारतसँग भएका सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गर्नुपर्छ, सीमा विवादलाई टुंगोमा पुर्याउनुपर्छ, ०६३ को नागरिकता विधेयकले दिएको नागरिकता खारेज गरेर नयाँ शिराबाट नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ, भारतले काम नगरेर ओगटेका ८५ प्रतिशत जलविद्युत् आयोजनाहरूको सम्झौताहरू खारेज गर्न सक्नुपर्छ, वर्क परमिट लागू गर्न सक्नुपर्छ।
 
भोको मान्छेको राष्ट्र हुँदैन। सस्तो र लोकप्रिय बजेट ल्याउँदैमा नेपालबाट बेरोजगार समस्या हल हुँदैन। खाडीलगायतका मुलुकमा रोजगारको तलासमा कमिलाका ताँती झैँ जानेहरूको कमी हुने छैन। नेपालमा उद्योगधन्दा खोलेर रोजगारको व्यवस्था गर्न सक्नुपर्छ। भारतमा सधैँ कामको खोजीमा जाने नेपालीको लस्करलाई राष्ट्रियताको खोक्रो नाराले खाना दिँदैन, सरकारले यो कुरा बुझोस्।
 
भारतले दादागिरी देखाउन छोडेर आफ्ना छिमेकीसँग पञ्चशील सिद्धान्तको आधारमा सम्बन्ध कायम गरे मात्र उसको पनि भलो हुनेछ, छिमेकीको पनि भलो हुनेछ। नत्र भारतीय उपमहाद्वीपमा भारत एक्लो हुनुपर्ने पीडा भोग्न बाध्य हुनेछन्। 

Labels:

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget