दीपकुमार उपाध्यायले आफूमाथि सरकार परिवर्तनको खेलमा लागेको आरोप पुष्टि गरेर देखाउन सरकारका मन्त्रीहरुलाई चुनौती
काठमाण्डौ २ जेष्ठ। भारतका लागि निवर्तमान नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूमाथि सरकार परिवर्तनको खेलमा लागेको आरोप पुष्टि गरेर देखाउन सरकारका मन्त्रीहरुलाई चुनौती दिनुभएको छ ।
उपाध्यायले आज अपरान्ह स्वदेश फर्कनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सरकार परिवर्तनको खेलमा लागेको आरोप पुष्टि भए सार्वजनिक जीवन नै त्याग गर्ने बताउनुभयो । एक साता पहिले एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सार्वजनिक कार्यक्रममार्फत नै राजदूत उपाध्यायमाथि भारतमा बसेर सरकार परिवर्तनको खेलमा सहभागी भएको आरोप लगाउनुभएको थियो । सरकारले एमाओवादीको निर्णयलगत्तै राजदूत उपाध्यायलाई फिर्ता हुन निर्देशन दिएको थियो । तर राजदूत उपाध्यायले भने आफूले दिल्लीमा रहँदा मुलुक र जनताको अहित हुने एउटै काम नगरेको भन्दै आरोप लगाउनेहरुले आरोपबारे पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।
भारतका लागि निवर्तमान नेपाली राजदूत राजदूत उपाध्यायले आफूलाई लगाइएको आरोपबारे परराष्ट्रमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेपछि थप प्रष्ट पार्ने बताउनुभयो । आरोपबारे अहिले धेरै कुरा बोल्नु कूटनीतिक मर्यादाविपरीत हुने उहाँको भनाइ छ । उहाँले फिर्ता बोलाउने निर्णयलाई आफूले सहजरुपमा लिएको पनि बताउनुभयो । उपाध्यायलाई काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राजदूत नियुक्त गरेको थियो । उहाँ १३ महिना ५ दिन राजदूतको जिम्मेवारी निर्वाह गरेर सरकारको निर्णयअनुसार फिर्ता हुनुभएको हो ।