नेपालगन्ज, ४ जेठ । घरको सीमारेखाभित्र सीमित रहने बाँके जिल्लाका मधेसी तथा मुस्लिम समुदायका महिला अहिले प्रजनन स्वास्थ्य तथा परिवार नियोजनको अभियानमा सक्रिय हुनुलाई महिला सशक्तीकरणको अत्यन्त फलदायी पक्ष मानिएको छ ।
रुढीवादी मान्यताका कारण परिवार नियोजन तथा प्रजनन स्वास्थ्यको कुरा सुन्न समेत लाज मान्ने सो समुदायका महिला सामाजिक संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रममा सहभागी हुन थालेपछि उनीहरुमा विस्तारै त्यसप्रति जागरुकता बढ्दै गएको हो ।
दुई वर्षअघि परिवार नियोजन तथा प्रजनन स्वास्थ्यप्रति अनभिज्ञ बाँके जिल्ला जयसपुरका मुस्लिम महिला परिवार नियोजन सङ्घको कार्यक्रममा सहभागी भएपछि उनीहरुमा प्रजनन स्वास्थ्यप्रति विस्तारै जागरण आउन थालेको छ ।
त्यस गाउँका महिलामा अहिले धेरै सन्तान पाउनु नहुने, सुखी परिवार कसरी बनाउने, परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा समुदायलाई जागरुक गराउने अभियानमा लाग्नुलाई महिलामा आएको असाधारण परिवर्तन भन्न थालिएको छ ।
त्यसैगरी, घरबाहिर निस्कँदा आफ्नो परिचय दिन लाज मान्ने, मुख ढाक्ने, कसैसँग बोल्नसमेत अप्ठ्यारो मान्ने मनिकापुरका मधेसी समुदायका महिला पनि परिवार नियोजन सङ्घको कार्यक्रममा सहभागी भएपछि अहिले परिवार नियोजन, प्रजनन तथा यौन स्वास्थ्यको अभियानमा थुप्रै मधेसी तथा मुस्लिम महिलालाई साथ लिएर गाउँमा जागरण पैmलाउन सक्रिय भएको पाइन्छ ।
केही समय अघिसम्म पटकपटक बोलाए पनि स्वास्थ्य चौकीमा नआउने मुस्लिम तथा मधेसी समुदायका महिला अहिले तल्लो पेट दुख्ने, आङ खस्ने, गर्भ रोक्नेलगायत परिवार नियोजन, प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकीमा आउने गर्दछन् ।
परिवार नियोजन सङ्घ बाँकेका प्रमुख अनिल बस्नेतका अनुसार यस जिल्लामा हाल नियमित अस्थायी परिवार नियोजनका साधन प्रयोग गरिरहेका सरदर १३ हजार २४० महिला, पुरुषमध्ये महिलाको सङ्ख्या ८० प्रतिशत रहेको तथ्याङ्कले महिला परिवार नियोजन तथा प्रजनन स्वास्थ्यप्रति अत्यन्त सचेत रहेको देखाउछ छ ।
गत आवमा बाँकेमा स्थायी परिवार नियोजन सेवा लिएका ६५३ जनामध्ये मिनिल्याप गर्ने महिलाको सङ्ख्या ४८० छ भने १७३ पुरुषले मात्र स्थायी बन्ध्याकरण (भ्याक्सेटोमी) गरेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ ।