Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अव्यवस्थित सडक दृष्टिविहीनका लागि समस्या

अञ्जली रम्तेल

काठमाडौँ, १६ जेठ । बर्दियाकी जिमावती लाम्कोलियाको काठमाडौँ बसाइँ नयाँ होइन । दृष्टिविहीन उनी यता बस्न थालेको नै दुई दशक भन्दा बढी भइसक्यो । उनी काठमाडौँका बाटो हिँड्न थालेको पनि त्यति नै भयो । 


काठमाडौँका बाटो अपाङ्गमैत्री हुन नसक्दा सेतो छडीको सहारामा हिँड्ने उनी कैयौँपटक पछारिएकी छिन् । हप्ता दिनअघि मात्र सडककै कारण उनी दुर्घटनामा परिन् ।

सधैँजसो जमलबाट छात्रावास रहेको कपनसम्म पुग्ने उनी त्यस दिन छात्रावास नभई हस्पिटल पुगिन् । उनले भनिन् – ‘सधैँ सार्वजनिक यातायातमा हिँड्छु म । त्यस दिन गाडीले सधैँभन्दा अलि पर रोकिदियो । मलाई थाहा भएन । पछि फर्केर जाने क्रममा लक्ष्मी बैंकले भूमिगत संरचना बनाउँदै रहेछ अनि त्यहाँ अगाडि ठूलो खाल्डो रहेछ । छडीको सहारामा हिंँडिरहेकी म थाहै नपाई खाल्डोमा पो छिरेछु ।’

एकछिन चिच्याएर बाहिर निस्कने कोसिस गरेपनि सुन्ने कोही नभएपछि उनी त्यहीँ बसिरहिन् । केही समयपछि उनी त्यही खाल्डोमा बेहोस भइसकेकी थिइन् । पछि केही मानिसले थाहा पाएर उनलाई निकाले र अस्पताल पु¥याएका थिए । उनी अहिले पनि औषधि खाइरहेकी छिन् ।

त्यो घटना हुनुभन्दा दुई दिनअघि पनि उनी त्यस्तै दुर्घटना हुनबाट बचेकी थिइन् । सडकमा बिजुलीको नाङ्गो तारबाट करेन्ट निस्किरहेको थाहा भएन । एकोहोरो हिँडिरहेकी जिमावतीलाई मानिसको हल्ला खल्लाले रोकेको थियो ।

‘मानिस आगो लाग्यो भन्दै थिए तर मलाई कसैले पनि रोकेको थिएन’, उनले सुनाइन् – ‘हिँड्दै गरेकी म अरु चिच्याएको सुनेर के भएको होला भनेर रोकिएँ । एक छिनपछि अगाडि बढ्न लागेकी थिएँ । एकजना साथीले देखेछन् र रोके । नत्र त म तार भएतिरै जान्थेँ होला ।’
यस्ता घटना कैयौँ पटक दोहोरिने गरेको सुनाउँदै उनले कुन दिन यस्तै असुरक्षित सडकका कारण आफ्नो ज्यानै जाने हो भन्ने चिन्ता लागेको बताइन् ।

यस्तै घटनाको कैयौँ पटक सामना गरिसकेका समीक्षा भट्टराईलाई पनि कुनै दिन ठूलै घटनामा पो परेर थप अपाङ्ग बन्ने हो कि भन्ने चिन्ता लाग्छ । गोरखाकी समीक्षा पनि जन्मदै दृष्टिविहीन हुन् ।

भर्खरै प्लस टु सकाएर बसेकी समीक्षा ६ वर्षको उमेरदेखि नै काठमाडौँमा बस्दै आएकी छिन् । तर समय समयमा काठमाडौँको बाटो फेरबदल भइरहेको उनको अनुभव छ । यस कारण उनलाई त्यही बाटो पटक÷पटक हिँड्दा असहज महसुस हुन्छ ।

केही दिनअघि उनी भृकुटीमण्डपबाट सुकेधारा जाने क्रममा बाटोमा भएको खाल्डोलाई छडीबाट समेत भेउ नपाउँदा उनी त्यही खाल्डोमा परिन् ।

‘कसैले मलाई अगाडि खाल्डो छ समेत भनिदिएनन्, खाल्डोमा परेपछि मलाई उठाउन भने आए’ – उनले भनिन् । त्यस घटनामा उनलाई हातखुट्टामा चोट लाग्यो । ‘यस्ता घटना धेरै पटक भएका छन्,’ उनले त्यस्ता घटना सुनाउँदै भनिन् – ‘कतिपटक बाटोमा हिँड्दा कुकुरलाई कुल्चिन पुग्छु । अनि त्यही कुकुरले टोक्छ । कहिलेकाहीँ बाटोमा सिधा हिँड्दाहिँड्दै खम्बामा ठोकिइन्छ ।’

नेत्रहीन युवा सङ्घका अध्यक्ष कलाधर भण्डारीसँग काठमाडौँको सुन्धारामा भएको खाल्डोमा आफू झर्दाझर्दै गर्दा बचेको अनुभव छ । ‘सुन्धारामा यस्ता खाल्डो कति छ कति तर हामीलाई थाहा हुन्न । सेतो छडी लिएर हिंडिरहँदा कसैले अगाडि खाल्डो छ भनेर बाटो औँल्याइदिएपछि बल्ल अर्कोतिरबाट हिँड्न सकेँ’ – उनले त्यस घटनालाई सविस्तार सुनाए ।

उपत्यकाका सडक अपाङ्गमैत्री हुन नसक्दा अपाङ्गता भएका ढुक्कले हिँड्न समेत नपाएको उनले गुनासो गरे । उनले ध्वनियुक्त ट्राफिक लाइट हुनुपर्ने माग समेत गरे ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधान अहिले महाशाखा सडक सुरक्षा समन्वयकारी भूमिकामा रहेको बताउँछन् । अपाङ्गमैत्री सडक नहुँदा छडीको भरमा मात्रै हिँड्नुपर्ने दृष्टिविहीन रुख, खम्बामा गएर ठोक्किने गरेको उनले स्वीकार गरे । रुख, खम्बा नभएका सडकमा मोटरसाइकल पार्किङ गरिदिने समस्या रहेको बताउँदै उनले सडकलाई अपाङ्गमैत्री बनाउन आफूले सक्दो प्रयास गरिरहेको जानकारी दिए ।

जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको करिब दुई प्रतिशत अपाङ्गता भएकाहरु छन् भने त्यसमा पनि दृष्टिविहीनको सङ्ख्या ९५ हजार ४०० अर्थात् १८.५ प्रतिशत छ । रासस

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget