
भद्रपुर, ६ जेठ । झापा जिल्लामा मस्तिष्क ज्वरोबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले जापानिज इन्सेफ्लाइटिसको भ्याक्सिन लगाउने सम्पूर्ण तयारी गरेको जनाएको छ । गएको वर्षमा १९ जना मस्तिष्क ज्वरोका बिरामी फेला परेका थिए भने यस वर्ष एकजना पनि त्यस्तो बिरामी नदेखिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जानकारी दिनुभयो । एक वर्षदेखि १५ वर्षसम्ममा करिब दुई लाख ५० हजार जनालाई सो भ्याक्सिन लगाउने र यसका लागि स्वयम्सेवक ६०० जना र स्वास्थ्यकर्मी ३०० जना परिचालन गरिने बताइएको छ । झापाका ३३ वटा गाविस र आठवटा नगरपालिकामा भ्याक्सिनका लागि कन्काई माइधारबाट पश्चिम र पूर्वतर्फ दुई चरणमा भ्याक्सिन लगाउन तयारी गरिएको छ । भ्याक्सिन स्वास्थ्य विभाग काठमाडौँबाट आउनेबित्तिकै लगाउने गरी तयारी भएको अधिकृत मेहताले बताउनुभयो ।
- See more at: http://www.radiovision.com.np/newsDetails.php?nid=8588#sthash.by9DJpoO.dpuf