ओखलढुङा, १९ जेष्ठ। ओखलढुङाको फुलवारी गाविसमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
अपरान्ह ४ बजे ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस ५ मा सडकबाट तल खस्दा ट्याक्टरमा सवार रहेका खोटाङ च्यास्मीटार ५ बस्ने ३५ वर्षिय हिरा बहादुर राई, ओखलढुङा बिलन्दु गाविस ५ बस्ने १५ वर्षिय बिष्णु बराल, सोही ठाउँ बस्ने १५ वर्षिय मिलन घिमिरे, १५ वर्षिय अमिर घिमिरे र फुलबारी गाविस बस्ने १४ वर्षिय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चुप्लुघोडाखरीले जनाएको छ।
दुर्घटनामा परी फुलबारी ४ का २० वर्षिय सह-चालक प्रेम थापा गम्भीर घाइते भएकाले उनलाई प्रहरीले उद्दार गरी उपचारकालागी स्थानीय स्वास्थ्य चौकी लगिएको छ।
चुप्लुघोडाखरीबाट बिलन्दुतर्फ जादै गरेको ना ५ त २५१२ नम्बरको ट्याक्टर अपरान्ह ४ बजेतिर फुलबारी गाविस ५ मा सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको थियो।