
जेठ ३०, सिन्धुली । कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषिमा आत्मनिर्भर बनाए मात्र समृद्ध राष्ट्रको कल्पना पूरा हुने भएको बताएका छन् ।
सिन्धुली जिल्लामा पहिलोपटक आयोजना भएको दुईदिने खाद्य मेलाको उद्घाटन गर्दै उनले भने – ‘कृषिमा आधुनिकीकरण र किसानलाई पेन्सन दिने नीति कार्यान्वयन भएपछि मात्र नेपालले कृषिमा आत्मनिर्भर भई देश विकासमा अघि बढ्छ ।’
कृषि क्षेत्र अब हलो, कुटो र कोदालेले परिवर्तन नहुने भएकाले सहरदेखि ग्रामीण क्षेत्रमा परम्परागत शैलीमा खेतीपाती गर्दा अब काम गर्ने जनशक्तिको अभाव हुँदै गएकाले कृषि क्षेत्रमा यान्त्रीकरणको विस्तार गरेमा विदेश पलायन भएका युवा आफैं देश बनाउन स्वदेश फर्कने उनको भनाइ थियो ।
कृषि मन्त्री गजुरेलले कृषि क्षेत्रमा यान्त्रीकरणको विकास र विस्तारका लागि बजेटमा रू. पाँच अर्ब ७० करोड छुट्याइएकाले अब ग्रामीण क्षेत्रमा नयाँ प्रविधि भित्र्याइने लक्ष्य रहेको बताए ।
राज्यले किसानलाई पेन्सन दिने बताउँदै कृषि मन्त्री गजुरेलले अब किसानको केही रकम र राज्यको लगानीमा कोष खडा गरिने बताए । यसपछि किसानले सरल तरिकाले ऋण पाउने भएकाले कृषि क्षेत्र अब युवाको आकर्षणमा पर्ने उनको दाबी छ ।