Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

काबुलबाट फर्केकाहरु भन्छन्ः जहाँ थ्रेट हुन्छ त्यहीँ नेपालीलाई खटाइन्छ

काठमाडौं । काबुलमा भएको आतंककारी हमलापछि त्यहाँ रहेको क्यानेडियन दूतावासमा कार्यरत २४ जना नेपाली सुरक्षागार्ड काम छोडेर स्वदेश फर्केका छन् । सरकारले विष्फोटमा मारिएका १२ नेपालीको शव लिन पठाएको जहाजमा उनीहरु फर्केका हुन् ।
नेपाल फर्केका दुई युवाले त्यहाँ काम गर्दाको वातावरणबारे अनलाइनखबरलाई जानकारी गराए । यी युवाका अनुसार तालिबानले पहिलेदेखि दिएको सुरक्षा थ्रेटको विषयलाई कम्पनीले लुकाएको थियो ।
आफूहरुलाई सबैभन्दा असुरक्षित ठाउँमा खटाइने गरेको पनि उनीहरुले बताएका छन् । उनीहरुको भनाई जस्ताको तस्तै:
नेपालीहरु ढाल बनेका छन्
श्यामबहादुर तामाङ
Shyam-bahadur-tamang
१८ वर्ष नेपाली सेनामा सेवा गरेर अवकाश पाएपछि के गर्ने के गर्ने भइरहेको थियो । त्यहि बेलामा अफगानिस्तान पठाउने एजेन्टसँग भेट भयो । क्यानेडियन दुतावासमा महिनाको साँढे नौ सय डलर कमाइ हुन्छ भने पछि म पनि २००७ मा पहिलोपटक अफगानिस्तान पुगें । पछिल्लो समय २०१४ मा दोस्रोपटक आफगानिस्तान गएको हुँ ।

शुक्रबार मेरो विदा भएकाले लजमै थिएँ । बिहानै ठूलो आवाज आयो । पक्कै बम विष्फोट भयो भन्ने त्यतिबेलै लागिसकेको थियो । केहिबेरमै थाहा भयो, आतंककारीको आक्रमणमा आफूसँगै काम गर्ने नेपाली दाजुभाइ नै परेछन् ।
वर्षौंदेखि सँगै काम गरेका साथीहरुलाई गुमाउँदा मन थाम्नै सकिएन । यस्तो ठाउँमा पनि कसरी बस्नु भन्ने भयो । नेपालबाट जहाज आउँदैछ भन्ने सुनेपछि कम्पनीको हाकिमलाई यस्तो असुरक्षित भएर बस्न सक्दैनौं भनेँ । उसले पनि जाने भए जाउ भन्यो । आफैं एयरपोर्टसम्म छोड्न पनि आयो ।
क्यानेडियन दूतावासको सुरक्षाका लागि हामीलाई एउटा सेक्युरिटी कम्पनीले खटाउने हो । भित्र क्याम्प राखिएको हुन्छ । हामीलाई एके ४७ दिइएको हुन्छ तर त्यो एम्बेसीभित्र बस्दा मात्रै हो । बाहिर निस्किएपछि सामान्य मान्छे जस्तै हौं ।
जहाँ सुरक्षा थ्रेट हुन्छ त्यहीँ हामीलाई खटाइन्छ । दूतावास भित्रको सुरक्षा गर्ने भए पनि यदि कसैले आक्रमण गर्‍यो भने सुरुमा हामीले नै सामना गर्नुपर्छ । राजदूतको क्वाटर, त्यो भन्दा बाहिरको भाग जस्ता बढी जोखिम भएको ठाउँमा नेपाली सुरक्षा गार्ड खटिने हो । उनीहरुको आन्तरिक सुरक्षाकर्मी पनि हुन्छन्, तर भित्रमात्रै । हामीले चाहीँ पुरै दूतावासलाई सुरक्षा दिने हो ।
हाम्रो कमाण्डर भारतीय सेनाका अवकाश प्राप्त अधिकृत छन् । त्यहाँ खटिने नेपाली त ढाल हुन् । हाकिमहरुले बुलेटप्रुफ गाडी चढ्छन् । हामीलाई सामान्य बसमा हिँडाइन्छ । कम्तिमा सानो सानो जिपमा थोरै थोरै मान्छे बोक्ने गरेको भए पनि एक्कै पटक यदि धेरै क्षती त हुँदैन थियो ।
सुरक्षाको कुरा कति गर्‍यौं कति । तर हाम्रो आवाज कसले सुन्ने ? सुरक्षा थ्रेट छ भन्ने कुरा पहिलेदेखि नै थियो । तर कम्पनीले हामीलाई जानकारी गराएन । तलब साढे नौ सय डलर बाहेक अरु कुनै सुविधा छैन । हामीलाई जीवन विमाको बारेमा पनि कुनै जानकारी नै दिइएको थिएन । अब सरकारले पनि केही गर्ला । हामीलाई हाम्रो बिमा रकम त चाहियो नि ।
आज आफ्नै घर फर्किएको छु । अब के गर्ने घरमा पनि सरसल्लाह गर्नु पर्छ । गाउँमा आफ्नै जिविका छँदैछ, त्यहि चलाएर बस्छु । हामी पनि श्रम स्वीकृत लिएरै गएको हो । तर अब यस्तो घटनामा नेपालीहरु पर्न थालेपछि सरकारले सोच्नुपर्छ ।
तालिबानको थ्रेट कम्पनीले लुकायो
प्रेमबहादुर तामाङ
Prem-bahadur-Tamang
मेरो घर नुवाकोटको त्रिशुलीमा छ । परिवारमा एउटा छोरा, एउटी छोरी र श्रीमती छन् । पहिले रोजगारीका लागि अरब गएको थिएँ । त्यहाँबाट फर्केपछि कुनै काम भएन ।
त्यसपछि अफगानिस्तान पठाउने एजेन्ट देवीरामलाई भेटेँ । त्यहाँ असुरक्षा छ भन्ने थाहा थियो । तर कमाई राम्रै हुने भनेपछि जोखिम मोलेर गएँ । म २०१२ मा अफगानिस्तान गएको हुँ । जाँदा करिब साढे तीन लाख खर्च भएको थियो । काबुलमा रहेको क्यानेडियन एम्बेसीको सुरक्षामा अरु नेपालीहरुसँगै म खटिएँ ।
एम्बेसीबाट करिब ३ किलोमिटरको दुरीमा हामी बस्ने लज थियो । त्यहाँबाट बिमानस्थलसम्म सामान्य बसमा ओहोरदोहार गराइन्थ्यो । त्यतिबेला हामीलार्इ सुरक्षित महसुस हुन्थ्यो । एम्बेसीमा काम गर्दा असुरक्षा थिएन, तर लजमा बस्दा र बसमा ओहोरदोहार गर्दा ९५ प्रतिशत असुरक्षा थियो ।
हाम्रो तलव मासिक ९ सय ५० डलर हुन्थ्यो । अरु सुविधा केही थिएन । ड्युटी आवर आठ घन्टा हो । लजबाट हामी बाहिर निस्कन पाउँदैन थियौं । हाम्रो संसार भनेकै कि लज र कि एम्बेसी थियो । त्यसबाहेक बसमा हिँड्दा बाहिर जति देखिन्थ्यो त्यही हो । हामी एक दिन पनि बाहिर घुमेर हिँड्न पाउदैनथ्यौं ।
तालिबानले पहिलेदेखि नै सुरक्षा थ्रेट दिइरहेको रहेछ । यो कुरा कम्पनीले हामीसँग लुकायो । सुरक्षा प्रवन्ध पनि केही गरेन । हामीले बेलाबेलामा सुरक्षाको माग गर्थेउँ तर कहिल्यै सुनवाई गरेनन् ।
विष्फोट हुँदा म ड्यूटीमा थिएँ । ड्याम्म आवाज आएको सुनियो । कता विष्फोट भयो भन्ने भयो । विष्फोटको आवाज त्यहाँ हाम्रो लागि नौलो थिएन । बेलाबेलामा नेपालीहरु पनि त्यसमा पर्थे । तर, यसपटक नेपालीहरु चढेकै बसमा विष्फोट भएछ ।
मेरो ड्यूटी ६ बजेसम्म थियो । ५ः२० तिर हानेछन् । त्यसपछि हामी बाहिर निस्कन सकेनौं । केही घन्टा त्यहीँ बितायौं । त्यसपछि आर्मोर्ड भेइकलबाट हामीलाई लजमा पुर्‍याइयो । एम्बेसीले केही दिनलाई आर्मोर्ड भेइकलको व्यवस्था मिलाएको छ ।
विष्फोटमा मेरो दाइ (ठुलोबाको छोरा) लिलबहादुर गुरुङ पनि पर्नुभएछ । अरु पनि मिल्ने साथीहरु थिए । साह्रै अत्यास लाग्यो । काम गर्न सक्ने अवस्था भएन । त्यसैले नेपाल फर्किने सोच बनाए ।
नेपालको सरकारले हामीलाई जहाजबाट ल्याउने व्यवस्था मिलायो । सरकारलाई धेरै धन्यवाद छ । आउँदा हामीले काम गरेको २० दिनको तलव छोड्नुपर्‍यो । जे होस आफ्नो देश फर्किन पाएकोमा खुशी छु ।
तर, यहाँ लामो समय बस्न सक्दिन होला । यहाँ काम पाइँदैन । अब सुरक्षित ठाउँ खोजेर जान्छु ।
by onlinekhabar 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget