Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आर्थिक समृद्धिको नारा सहित नयाँ शक्ति नेपालको घोषणा

आर्थिक समृद्धिको नारा सहित नयाँ शक्ति नेपालको घोषणाजेठ ३०, काठमाडौं । आगामी निर्वाचनबाट देशको एक नम्बर पार्टी बन्ने लक्ष्य सहित आर्थिक समृद्धिको नारा लिएर नयाँ शक्ति पार्टी नेपालको घोषणा भएको छ । पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्री एवम् पूर्व माओबादी नेता डा. बाबुराम भट्टराईको संयोजकत्वमा आइतबार राजधानीको दशरथ रङ्गशालाबाट नयाँ शक्तिको घोषणा गरिएको हो । ‘अवको निकास, आर्थिक विकास’, ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुल उद्धेश्य सहित नेपालमा नयाँ भिजन र नयाँ एजेण्डा सहित नयाँ वैचारिक शक्तिको उदय भएको नयाँ घोषित पार्टीका संयोजक भट्टराईले बताए । 
पार्टी घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘सकारात्मक सोच, एजेण्डा र काम गर्ने लक्ष्य सहित कुनै वादमा आधारित नभै ज्ञान विज्ञानको सम्मिश्रणको आधारमा मुलुकको समग्र आर्थिक समृद्धिका लागि नयाँ विचारका रुपमा नयाँ शक्ति पार्टीको घोषणा गरिएको हो ।’ नेपालमा अब कुनै राजनीतिक आन्दोलन बाँकी नरहेको भन्दै उनले आर्थिक क्रान्ति मार्फत समृद्ध नेपाल बनाउने आफ्नो सपना आफ्नै पालामा पूरा गर्ने भट्टराईले बताए । 
नेपाल निर्माणको तीन चरण मध्ये पृथ्वी नारायण शाह र भिमसेन थापा जस्ता योद्धाले देशको भूगोल निर्माण गरेको, दोस्रो चरण अन्तर्गत देशले ८ दशक समय लगाएर लोकतान्त्रिक, गणतान्त्रिक शासन ब्यबस्थाका लागि विभिन्न चरणका आन्दोलन गर्दै  संविधान निर्माण गरेकोले अवको तेस्रो चरणको यूग आर्थिक विकासको यूग रहेको भन्दै त्यसलाई साकार पार्न नयाँ शक्ति पार्टीको आवश्यकता रहेको बताईएको छ । आफ्नो पार्टीले समग्र विकास र समृद्धिका लागि देशमा निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिएर लगानीको वातावरण सृजना गरि उत्पादन र रोजगारी बृद्धिमा केन्द्रित रहने आफ्नो सिद्धान्त रहेको डा. भट्टराईले बताए । पार्टीको स्पष्ट विचार र सिद्धान्त नभएको भन्ने आरोपलाई चिर्दै भट्टराईले भने, ‘हामी विगतका कुनै वादलाई मान्दैनौं, नेपालको गरिबी र बेरोजगारी हिजोको वैचारिक धरातलबाट संभव छैन त्यसैले हामी त्यो भन्दा माथि छुट्टै धारबाट उठ्नु जरुरी छ । मानिसले नै विचार र दर्शनको निर्माण गर्ने भएकाले अहिलेको ज्ञान र विज्ञानको संयोजनबाट जे कुराले देशको समृद्धि र विकास हुन्छ, जे गर्दा देशमा लगानी आउँछ र जुन कुराले देशको दिगो विकास हुन्छ त्यो नै आफ्नो पार्टीको विचार, धार र सिद्धान्त हो ।’         
आर्थिक विकासमा अगाडी बढेका दुई ठूला देशको विचमा तरुलको रुपमा नभएर दुई समुन्द्रवीचको गतिशिल पुलका रुपमा नेपाललाई अगाडी बढाउनु पर्नेमा भट्टराईको जोड थियो । उनले समृद्धिको बाटोमा अगाडी बढेका दुई देशबाट लाभ लिनुपर्ने भन्दै उत्पादन र लगानी बढाएर त्यहाँको बजारमा पुग्नु पर्ने बताए । विभिन्न प्राकृतिक स्रोतहरुमा नेपाल सम्पन्न भएकाले ४० प्रतिशत यूवा शक्तिलाई देश भित्रै रोजगारी सृजना गरि अबको २५ वर्षमा नेपाललाई विश्वकै धनि देश बनाउने खाका आफूहरुले ल्याउने बाबुरामको भनाई थियो । राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि आर्थिक रुपमा समृद्ध हुनुपर्ने भएकाले देशको समृद्धिलाई अर्जुन दृष्टिका रुपमा मानेर नयाँ शक्ति गठन भएको बाबुरामको दावी थियो । स्थिरता र शान्ति नभई देश विकासका सबै कुरा संभव नहुने भएकाले राज्यका सबै समुदायलाई बराबरी अधिकार र हैसियत प्रदान गर्नुपर्ने उनले बताए । जसले गर्दा कोही पनि आफ्नो अधिकारको लागि पटक पटक आन्दोलन र बन्द हड्तालमा उत्रिनु नपर्ने उनको भनाई थियो । देशको स्थिरताका लागि आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक ब्यबस्थापिकाको पक्षमा रहेको भट्टराईले बताए । आफ्नो पार्टी वाम–लोकतान्त्रिक शक्तिको रुपमा समन्नत समाजवादको दिशामा अगाडी बढ्ने भट्टराईको भनाई थियो । 
देशमा तत्कालै उद्यमशील राष्ट्रिय पूँजीको विकासका लागि व्यक्तिगत स्वतन्त्रता, निजी क्षेत्रलाई प्राथमिकता, बजारको प्रबद्र्धन गरिनु पार्टीको प्रमुख लक्ष्य रहेको बताइएको छ । यसका लागि राज्य सहयोगी र नियन्त्रकका रुपमा रहनुपर्ने भनिएको छ । बन्द, हड्ताल र आन्दोलन नगर्ने, उद्यमी व्यवसायीको सुरक्षाको ब्यबस्था गर्दै औद्योगिक वातावरण बनाउने पार्टीको नीति हुने उद्घोष गरिएको छ । यि सबै विषय सोमबारबाट शुरु हुने पार्टीको राष्ट्रिय महाधिवेसनले आधिकारिक धारणाका रुपमा अगाडी ल्याउने नयाँ शक्तिले बताएको छ । बाबुरामले अन्तिममा भने, ‘म एउटा घरको नक्सा बनाउने आर्किटेक्ट पनि हुं, सबै नेपालीले घर बनाउन सक्ने बनाएपछि मात्र आफ्नो घर बनाउँछु, त्यो भन्दा अगाडी निजी सम्पत्ति जोड्ने छैन् ।’ भिजन भएको नेतृत्वले मात्र इतिहास बनाउन सक्ने भएकाले आफूले जोखिम लिएरै नयाँ पार्टीको गठन गरेको भट्टराईको दावी थियो ।
नयाँ शक्ति पार्टीलाई शुभकामना दिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर आर्थिक विकासको दिशामा जानु पर्ने बताए । भर्खरै पार्टी घोषणा भएकोले नयाँ पार्टीले आर्थिक उन्नतीका लागि सकारात्मक भूमिका खेल्ने अपेक्षा गरेको उनले बताए । नेपालमा पार्टीहरुको कमि नरहेको भन्दै उनले आर्थिक विकासको नारा लिएर आएको पार्टीले सफलता प्राप्त गरोस भन्ने शुभकामना दिए । उनले संविधानमा असन्तुष्टि राखेर आन्दोलन गरिरहेका दलहरुलाई वार्ता र संवादमा आउन आग्रह पनि गरे । सोही कार्यक्रममा पुगेका पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नयाँ शक्तिको आर्थिक विकासको नारा समय सान्दर्भिक रहेको बताएका छन् । उनले भने, ‘संविधान बनेपछि देशमा आर्थिक समृद्धिको आवश्यकता छ, यसका लागि स्वदेशी÷विदेशी लगानी भित्र्याउन पर्छ । लगानीको लागि सुरक्षित वातावरण निर्माण गर्न सबै पार्टीहरुवीच एकता र सहमति आवश्यक हुन्छ ।’ नयाँ शक्तिमा आएका यूवा शक्तिको जोश देखेर आफू आशावादी भएको भन्दै देउवाले नयाँ पार्टीले लिएको अठोट प्रति शुभकामना दिए । 
पार्टी घोषणा सभामा विभिन्न दलका नेता, विभिन्न देशका राजदूत, भारतबाट आएका केहि दलका नेता तथा नागरिक अगुवाले आर्थिक समृद्धिको नाराप्रति सकारात्मक हुंदै शुभकामना दिएका थिए । पार्टी घोषणा सभामा देशभरिका आफ्ना संस्थागत सदस्यहरुलाई नौ बुँदे सपथग्रहण पनि गराईएको थियो ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget