देबु बानियाँ
मेचीनगर, २७ जेष्ठ । १० दिनदेखि बेपत्ता मेचीनगर–८ आदर्श टोली निवासी १८ वर्षिया मनिषा दङ्गाललाई खोजी गरिदिन उनका परिवारले स्थानीय प्रशासनसँग माग गरेका छन् ।
यति लामो समयसम्म छोरीको कुनै खोजखबर नभएपछि अपहरणमा परेको वा बेचिएको हुन सक्ने भन्दै परिवारले खोजी गरिदिन प्रशासनसँग आग्रह गरेका हुन् ।मेचीनगर, २७ जेष्ठ । १० दिनदेखि बेपत्ता मेचीनगर–८ आदर्श टोली निवासी १८ वर्षिया मनिषा दङ्गाललाई खोजी गरिदिन उनका परिवारले स्थानीय प्रशासनसँग माग गरेका छन् ।
गत जेठ १७ गतेदेखि बेपत्ता भएकी मनिषा अहिलेसम्म कुनै सम्पर्कमा नआएपछि उनका परिवार छोरीको खोजीमा भौतारिरहेका छन् ।
परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र माइती नेपालमा निवेदन समेत दिएका छन् । मनिषा अपरणमा परेको वा बेचिएको हुनसक्ने परिवारले आशंका गरेका छन् ।
मनिषा बिहान ९ बजे मेचीनगर १३ स्थित एक टेलर पसलमा कपडा लिन जाने भन्दै दाई प्रेम दङ्गाललाई सोधेर घरबाट निस्किएकी थिइन् । तर, साँझसम्म पनि घर नआएपछि उनको खोजी गर्न थालिएको बुबा बीरबहादुर दङ्गालले बताए । ‘बिहे गरेकी भए त केही खबर त हुन्छ नि ?’ उनले भने–‘खोज्ने ठाउँ र हामीलाई सङ्खा लागेको सबै ठाउँमा खोजिसक्यौ तर, कुनै अत्तोपत्तो छैन, छोरीको पीरले उनकी आमा दिनरात रोएर बसेकी छिन् ।’
मनिषा एक वर्ष अघि बालकल्याण माविबाट एसएलसी दिएर घरमै बस्दै आएकी थिइन् । उनको सम्पर्कमा रहेका सबैसँग इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सोधपुज गरे पनि कुनै पत्ता लाग्न सकेको छैन । ‘हामी निरन्तर उनैको खोजीमा छौँ’ इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने–‘फोन डिटेलको आधारमा खोज्न सजिलो भए पनि टेलिकमले फोन डिटेल दिन ढिला गरेका कारणले खोजी कार्यमा समस्या परेको छ ।’
उनी बेपत्ता भएसँगै यतिबेला सिङ्गो गाउँ नै चिन्तामा परेको छ । उनले बिहे गरेको, अपरणमा परेको वा बेचिएको कुनै पत्तो नभएकाले पनि छोरी कुन अवस्थामा छिन भन्ने थाहा छैन । गाउँका सबै मानिस उनको खोजीमा लागिपरेका छन् ।
उनी हराएको दिन दिउँसो १२ बजेसम्म मोवाइलमा फोन लागे पनि नउठाएकी भाउजु मिना दङ्गालले बताइन् । ‘जोसँग बिहे गरेको भए पनि यहाँ छु भन्दिए हुन्छ’ आँखाभरी आँसु पार्दै आमा चन्द्रकला दङ्गालले भनिन्–‘छोरी बिहे गर्नुपर्छ भन्दा पनि अझै २ वर्ष नगर्ने भन्ने उनी आज नसोधी कहाँ गइन् ? कस्तो अवस्थामा छिन ? कमसेकम खबर मात्र पाउन पाए पनि हुन्थ्यो ।’ उनी घरकी कान्छी छोरी हुन् । उनका एक दाजु र दिदी छन् ।
- खबरमञ्चबाट साभार