
महोत्तरी, असार ५ ।
अत्यधिक मदिरा सेवनबाट महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस-६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका-७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति १० बजेसम्म सहसौला चोकमा अवस्थित विनोद महराको मदिरा पसलमा मदिरा पिएर घर गएका उनीहरुको आज बिहान २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । यसैबीच मदिरा पिएर औरही गाविस-३ का बद्री मल्लिक र मदिरा पसले विनोद महरा पनि सिकिस्त बिरामी भएकामा मल्लिकको उपचार इलाका हेल्थ पोष्ट रामगोपालपुरमा भइरहेको छ भने महरालाई परिवारजनले उपचारका लागि जिल्ला बाहिर लगेको प्रहरी उपरीक्षक भट्टराईले बताउनु भयो ।