उर्लावारी १७ असार । उर्लाबारी र मोरङको मधुमल्लामा गएको बक्राहा खोलाको बाढीबाट बिस्तापित भएकाहरुको लागि राहत अभियान तिब्र पारिएको छ ।
न्यानो अभियान उर्लाबारीको आयोजना तथा चलचित्र पत्रकार संघ पूर्वाञ्चल, बुलेट गाइज इटहरी, उज्यालो समाज दुर्गापुरी, दिपज्योती क्लव, चिन्तन चौतारी मधुमल्ला, मंगलबारे युवा समाज, उर्लाबारी युवा क्लब लगायतको सहकार्यमा राहत अभियान तिब्र पारिएको हो ।
यसै क्रममा बिहीबार मोरङको पथरीमा राहत संकलन गरिएको छ । पथरी बजारबाट ४९ हजार ४३ रुपैयाँ संकलन भएको छ । पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, चलचित्र पत्रकार संघ पूर्वाञ्चल शाखाका अध्यक्ष सन्तोष राई, पत्रकार हरि कोइराला, बिजय खम्बु, गोपाल काफ्ले, लोकबहादुर चौहान लगायतले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।
बजार व्यापारी तथा यात्रुहरुले लत्ता कपडा, चाउचाउ, कपडा, स्टेशनरीका समाग्रीहरु पनि सहयोग गरेको न्यानो अभियानका संयोजक पूर्ण सिंगक लिम्बूले जानकारी दिए । राहत संकलन पछि कार्यक्रममा बोल्दै समाजसेवी जयधर्म आचार्य र इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक रमेश बस्नेतले कार्यक्रमको प्रशंशा गरे ।
अभियानका आर्थिक संयोजक तेजन खड्काले शुक्रवार उर्लाबारी बजारमा राहत संकलन गर्ने जानकारी दिए ।