बिहिबार चलचित्र बिकास बोर्डमा भएको बोर्ड स्थापना दिवस मनाउन आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो।
सर्वोत्कृष्ट फिल्मसँगै 'पशुपति प्रसाद'ले लेखन र निर्देशनतर्फको पुरस्कार पनि आफ्नो पक्षमा पार्दै राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेको छ। लेखनबाट 'खगेन्द्र लामिछाने र निर्देशनबाट दिपेन्द्र के खनालले उक्त पुरस्कार हात पारेका हुन्।
त्यस्तै सर्वोत्कृष्ट अभिनेतामा 'कबड्डी कबड्डी' फिल्मबाट दयाहाङ राई घोषित भएको छ भने अभिनेत्रीतर्फ 'क्लासिक' बाट नम्रता श्रेष्ठ उत्कृष्ट भएकी छन्।
यसैगरी छायाँकनमा 'ड्रिम्स'बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले पुरस्कार आफ्नो पक्षमा पारे। सम्पादन तर्फ 'क्लासिक' फिल्मबाट सुरेन्द्र पौडेल उत्कृष्ट कहलिएका छन् ।
आदिवासी जनजाती फिल्म तर्फ गुरुङ भाषाको फिल्म 'यम्फु देवराली' उत्कृष्ट बनेको छ भने जुरीले प्रदान गर्ने अधिकार पाएको विशेष पुरस्कारको हकदार नव निर्देशकमा भुवन केसी बनेका छन्।
यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ। भुषाललाई ३ लाख ५१ हजार र सम्मान पत्रले सम्मानित गरिने भएको हो।
बिहिबार साँझ ५ बजे राष्ट्रपति भवनमा आयोजना हुने विशेष कार्यक्रमका बीच विजेता फिल्मकर्मीलाई राष्ट्रपति विधादेवी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिनेछ।
रमेश बुढाथोकी संयोजकत्वको लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला, सुशिल पौडेल र करुण थापा सम्मिलित ६ सदस्यिय निर्णायक मण्डलले बर्ष २०७२ मा प्रदर्शन भएका फिल्मबाट उत्कृष्ट छनोट गरेको हो।