विराटनगर, साउन ११ गते।
पूर्व क्षेत्रका विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
सिरहा धनगढी-९ पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स २ प २९६२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोमबार साँझ एक महिलाको मृत्यु भएको छ। मृतकको नामथर वतन खुल्न सकेको छैन। सोमबार सांझ साढे साँझ बाटोमा हिडदै गर्दा महिलालाई मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते भएकी थिईन। घाइते महिलाको उपचारकालागि लहानतर्फ लैजानेक्रमममा राती ८ बजे मृत्यु भएको हो। मोटरसाइकल छाडी चालक फरार भएकाले इलाका प्रहरी कार्यालय धनगढीबाट उनको खोजी भइरहेको छ।
त्यसैगरी सप्तरीको ब्रहमपुरा-८ पातो-कठौना सडक खण्डमा स ५ प ७८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सप्तरी कल्याणपुर-३ का २३ वर्षिय मोहमद अताबुल र सोही गाविस २ का २४ वर्षिय मोहमद सैयाद घाइते भएका छन। दुबै घाइतेलाई न्युरो अस्पताल विराटनगर ल्याइएको छ।
त्यस्तै मोरङको बिराटनगर-४ धरान-बिराटनगर सडक खण्डमा को. १८ प २०२१ नम्बरको मोटरसाइकल र को २२ प ९८१४ नम्बरको स्कुटर एक अर्कासंग ठोक्किंदा तीन जना घाइते भएका छन। घाइतेहरुमा मोटरसाइकलमा सवार विराटनगर-४ बस्ने मोहन ठकुरी, सोही ठाउँका कृष्ण राजवंशी तथा स्कुटर चालक विराटनगर-५ का गोकर्ण काफ्ले छन। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
त्यस्तै मोरङ केरौन-४ स्थित कानेपोखरी- रंगेली सडक खण्डमा को २० प ८९९४ मोटरसाइकल दुर्घटना हुँदा कैरोन-४ बस्ने कृष्ण गौतम र प्रकाश निरौला घाईते भई उपचारकालागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ।