
बाढीका कारण झापामा एकहजार पाँचसय भन्दाबढी स्थानीय विस्थपित भएका छन् । उनीहरुलाई आवश्यक उद्धारपछि विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिकस्थलमा राखिएको छ । लगातारको वर्षाले जिल्लाका एकहजार भन्दाबढी घर अझै डुवानमा छन् ।
लगातारको वर्षाले बाढी विस्थापितको सङ्ख्या बढ्दै गएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । तीनदिन यता विस्थापित हुनेको संख्या १५ सय नाघेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनु भयो ।
समितिका अनुसार भारतीय सीमावर्ती झापाको पाठामारीबाट दुई सय जना भन्दाबढी विस्थापित भएका छन् । कुमरखोदबाट चारसय जना र भद्रपुरबाट सातसय पाँचजना विस्थापित भएका छन् । राजगढ, कोरोवारी, जलथल, शरणामती, डागीवारी खजुरगाछी लगायतका गाविसबाट पनि स्थानीय विस्थापित भएको प्रजिअ भुजेलले जानकारी दिनुभयो ।