विराटनगर २१ साउन । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक बर्षदेखी लागू हुने गरि घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरि दस्तुर बढाईएपछि स्थानीयबासीहरु आक्रोसित भएका छन ।
न्यूनतम सुविधा समेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाँड सेक्ने गरि घरजग्गा कर बढाएपछि यो अव्यवहारिक निर्णयको सर्वत्र आलोचना हुन थालेको छ । दश धुर जग्गामा एक तल्ले पिलर हालेको १ हजार स्किवार फिट घरको बढीमा ४ सय रुपैया सम्म कर तिरेका नगरबासीले यही साउन देखी अव २ हजार सम्म कर तिर्नुपर्ने भएको छ । विराटनगर उपमहानगरपालिकाका वित्तिय व्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले घरको कर बढेको पुष्टि गरे । बढेको करले ठूला करदातालाई राहत पुग्ने तर साना करदाता भने केही मार्कामा पर्ने थपलियाले जानकारी दिए । वैज्ञानिक हिसावले कर बढेको छ उनले भने जसले प्रत्येक बर्ष ४० लाख रुपैया सम्म तिरिरहेको छ त्यसता करदातालाई यो निर्णयबाट राहत पुग्ने छ । दुई बर्ष अघि मालपोत कार्यालयको मूल्याङकनको आधारमा घरजग्गा कर बढाउदा स्थानीयबासीहरुले आन्दोलन गरेका थिए । त्यसपछि आर्थिक बर्ष ०७२÷७३ मा घरजग्गा कर बढाईएको थिएन ।
घरको मूल्याङकन गर्दा सुरुको अंक ६३५ ले गणना गरि ० दशमलव ५ प्रतिसतले गुणा गरिन्थयो । अहिले सुरुकै अंक बढाएर १५ सय पुर्याएको छ र १५ सयलाई १ प्रतिसतले गुणा गरेर दस्तुर लिने गरेको वित्तिय व्यवस्थापन शाखाले जनाएको छ । ठूला करदाताको हकमा भने १ दशमलव ५ प्रतिसतलाई घटाएर ० दशमलव ४ प्रतिसतमा झारेको छ । नयाँ नियम अनुसार जग्गाको कर भने जिल्ला मालपोत कार्यालयले निर्धारण गरे अनुसारकै सरकारी दर रेट अनुसार रहेको शाखाको भनाई छ ।
वित्तिय व्यवस्थाप महाशाखा प्रमुख थपलियाले नेपाल सरकारको निर्णय अनुसारनै घरजग्गा करको दस्तुर उपमहानगरपालिकाले वृद्धि गरेको बताए । नगरपरिषदले दस्तुर बढाएको छैन उनले भने सरकारको निर्देशनको पालना मात्र गरेको हो । विस २०७२ साल कार्तिक ९ गतेको राजपत्रमा दस्तुर बढेको उल्लेख छ ।
उपमहानगरपालिकाका ठूला करदातमा नोवेल मेडिकल कलेज , नेपाल आयल निगम , कृषि सामाग्री संस्थान , नेशनल ट्रेडिङ लगायतका सरकारी कार्यालय र अस्पतालहरु छन । नोवेलले गत आवमा घरजग्गा कर बापत ४७ लाख रुपैया उपमहानगरपालिमा बुझाएको थियो । ठूलाकरदाताको दस्तुर घटेपछि नोवेलले बढीमा २० लाख रुपैया सम्म कर बुझाए हुन्छ । पछिल्लो तथ्याङ अनुसार विराटनगरमा २० हजार ५ सयको हाराहारीमा करदाता छन । जसमा ठूला करदाता २ सयको संख्यामा पनि छैनन । यसको प्रत्यक्ष मार अनतत् साना करदाताहरुलाईनै पर्ने देखिन्छ । घर करको वृद्धिसँगै विराटनगर उपमहानगरपालिको स्रोत समेत बढने निश्चित छ ।
चालु आर्थिक बर्षमा घरजग्गा करबाट नगरपालिकाले ७ करोड ५० लाख रुपैया लक्ष्य लिएकोमा ८ करोड २० लाख संकलन गरेको थियो । चालु आवमा लक्ष्य ८ करोड ७० लाख रुपैया रहेकोमा घरजग्गा करको यो उच्च वृद्धि सँगै १५ करोड रुपैया संकलन हुने अनुमान गरिएको छ ।