काठमान्डौ ,१ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सीमांकन हेरफेरको विषयमा जनमतसंग्रह गर्ने प्रस्ताव जाने भएको छ ।
राजधानीमा आज भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रामशरण महतले मधेसी मोर्चाले उठाएको मागबारे स्थानीय जनताको रायका आधारमा हुनुपर्ने विषयलाई कांग्रेसले छलफल गर्ने बताउनुभएको हो । तत्काल मधेसीहरुले माग गरेअनुसार मधेशमा २ प्रदेश हुन नसक्ने हुँदा स्थानीय जनताले भने बमोजिम जनमत संग्रह गरेर विवाद समाधान गर्ने गरी केन्द्रीय समितिमा छलफल हुने नेता महतले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेता महतले स्थानीय निकायको सीमांकन पुनःसंरचना लगायतको काम तत्काल नसकिने हुँदा हाल रहेको स्थानीय निकायका संरचनामा नै निर्वाचन गर्नुपर्ने भनाई राख्नुभएको थियो । पुनंसंरचना आयोगलाई काम गर्ने अख्तियारी दिंदा हतारमा निर्णय गरिएकाले अप्ठ्यारो परेको नेता महतले स्वीकार गर्नुभयो ।