विराटनगर २१ असोज । सुनसरीको धरानकी १८ बर्षीया सुन्दरी प्रेशिका निरौला म्यूजिक भिडियोमा ब्यस्त छिन् । धरान जेसीजको आयोजनामा भएको मिस एसएलसीमा फोटोजेनिकको उपाधि हात पारेपछि उनी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् ।
५ फिट ५ इन्च अग्ली यी सुन्दरीले एक दर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् भने रंगमञ्चमासमेत दुई बर्ष अघिदेखि सक्रिय रहेकी छिन् । उनले अहिलेसम्म १३ वटा म्युजिक भिडियो र २ वटा विज्ञापनमा अभिनय गरिसकेकी छिन् । त्यस्तै पार्सल फिल्ममा छोटो भूमिकामा उनको अभिनय देख्न सकिन्छ । साथै पूर्वका अधिकांश फेसन शोमा उनले आफ्ने प्रस्तुति देखाइसकेकी छिन् । रंगमञ्चमा ‘किनाराका स्वरहरु 'अब टाउको कहिले हल्लिन्छ’ मा अभिनय गरिसकेकी छिन् भने अहिले ‘पुच्छर मान्छे’ नामक नाटकको अभ्यास गरिरहेकी छिन् ।
प्लस टु सकिसकेकी उनी मार्मिक भूमिकामा आफ्नो कला प्रस्तुत चाहन्छिन् । मोडलिङसँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको छ । प्रेशिका आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । ‘भविष्यमा राम्रो कलाकार बन्ने सोच छ’, उनले भनिन्, ‘अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु ।’ प्रेशिकाले यो क्षेत्रलाई समाजले अझै नकारात्मक रूपमा लिने गरेको बताउँछिन् । मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमका रूपमा लिनु पर्ने उनको तर्क छ ।
-उर्लावारी डटकमबाट