Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ब्रिक्स सम्मेलन सम्पन्न, सहकार्यका लागि अनुपम अवसरः प्रधानमन्त्री दाहाल

काठमाडौं ,१ कात्तिक  ।  बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन आइतबार गोवा सम्पन्न भएको छ ।
घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्तरुपमा काम गर्न सकिने सम्भावनालाई पहिल्याउने उल्लेख गरिएको छ ।
ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको सम्मेलनले जारी गरेको यस घोषणापत्रमा बिम्स्टेकसँगको आउटरिच कार्यक्रमले ब्रिक्स र बिम्स्टेकको सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसरका रुपमा उल्लेख गरिएको छ । बिम्स्टेकमा भारत, थाइल्याण्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, नेपाल र भुटान रहेका छन् ।
घोषणापत्रमा भारतले ब्रिक्सको पहिलो व्यापार सम्मेलन भारतमा गर्ने पहल लिएको र यसले ब्रिक्स मुलुकबीच व्यापारलाई अगाडि बढाउन सहयोग गर्ने उल्लेख गरिएको छ ।
ब्रिक्स घोषणापत्रमा सबै खालका आतङ्कवादलाई निन्दा गर्दै भारतमा हालै भएको आतङ्ककारी हमलाको पनि निन्दा गरिएको छ । यसैगरी, सम्मेलनमा ब्रिक्सका राष्ट्रहरु कृषिसम्बन्धी ब्रिक्सको अनुसन्धान प्लेटफर्म बनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्न सहमत देखिएका छन् ।
ब्रिक्सको घोषणापत्र जारी भएपछि बिम्स्टेक देशका सरकार प्रमुखहरुसँग ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन भएको थियो ।  
सहकार्यका लागि अनुपम अवसर
प्रधानमन्त्री दाहालले ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन सदस्य मुलुकहरुबिच वार्ता र सहकार्यका लागि अनुपम अवसर भएको बताउनुभएको छ ।
ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलनलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले विश्वको एक तिहाईभन्दा बढी जनसङ्ख्या र एक चौथाई कूल गार्हस्थ्य उत्पादनको प्रतिनिधित्व गर्ने बताउनुभयो ।
बिम्स्टेकले यस क्षेत्रका डेढ अर्ब भन्दा बढी जनसङ्ख्याको विकास र उज्ज्वल भविष्यका लागि सामूहिक अभिलाषा राख्नुपर्ने धारणा राख्दै ब्रिक्स यस क्षेत्रको आर्थिक रुपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
यस क्षेत्रका अपार सम्भावनालाई व्यवहारमा साकार पार्न ब्रिक्स र बिम्स्टेकबिच बलियो साझेदारीको आवश्यककता औँल्याउँदै उहाँले भारत दुवै समूहको महत्वपूर्ण सदस्य भएकाले उसले साझा सेतुको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो  ।
यस क्षेत्रका लाखौं नागरिकलाई गरिबीको दुश्चक्रबाट मुक्ति दिलाउन  विगत दुई दशकदेखि ब्रिक्सको प्रतिबद्धता जारी रहेको बताउँदै उहाँले यसले विश्व अर्थतन्त्रलाई आर्थिक सङ्कटका बाबजुद स्थिर राख्न मद्दत गरेको छ भन्नुभयो ।
पहिलो पटक साझेदारी र अवसरका विषयमा ब्रिक्स र बिम्स्टेक सदस्य मुलुकबीच छलफल भएकोमा खुशी व्यक्त गर्दै उहाँले यसले ठूलो सम्भावनाको ढोका खोलेको बताउनुभयो । शिक्षा र मानव संशाधन विकासको सहयोगबाट दुवै समूहले लाभ लिन सक्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि युवा जनशक्तिलाई सदुपयोग गर्न सकिने धारणा राख्नुभयो ।
कृषि हामी सबैजसोको अर्थतन्त्रको मुख्य पक्ष हो भन्दै उहाँले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिले रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ऊर्जा विकासमा सहकार्य गर्न सके यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै उहाँले नवीकरणीय ऊर्जाको उपयोगले स्वच्छ र हरित विकास ल्याउन सकिने उल्लेख गर्नुभयो ।
अन्तरक्षेत्रीय सञ्जालका लागि अत्याधुनिक पूर्वाधारले सबै प्रकारका आवागमनका माध्यम (सडक, रेल, जलयात्रा, हवाइमार्ग र प्रसारणलाइन)को सुविधाले यस क्षेत्रका वस्तु, सेवा र नागरिकलाई जोड्न सकिने उहाँको धारणा थियो ।
ब्रिक्स सदस्य मुलुकले नयाँ बैंक स्थापना र सञ्चालन गर्न सफल भएकोमा बधाई दिँदै त्यसबाट यस क्षेत्रको पूर्वाधार परियोजना र कार्यक्रमको दिगो विकासलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो ।
आतङ्कवादको त्रास, त्यसका स्वरुपहरु, मानव तथा लागुऔषधको बेचबिखन र अन्य अन्तरदेशीय अपराधका विरुद्धमा सामूहिक रुपमा लड्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।
सम्बोधन क्रममा उहाँले बिम्स्टेकको महत्वपूर्ण सदस्य राष्ट्र थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधनमा त्यहाँको सरकार र नागरिकप्रति हार्दिक समवेदना पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले उक्त सम्मेलन आयोजना गर्ने मुलुक भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद  पनि ज्ञापन गर्नुभयो । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget