-हेम गिरी
हरि उप्रेती अमेरिकाको कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी भूटानी भनौ या नेपाली समुदायको लागि कुनै नयाँ नाम होइन । उनी आफुलाई सामान्य मान्छे भन्छन तर, समुदायले उनलाई नेपाली मुलका गीतकार भनेर चिन्छ । त्यति मात्र होइन उनी एक समाजसेवीको रुपमा पनि चिनिन्छन । वि.स २०३४ सालमा भुटानमा जन्मेका रहेछन उप्रेती । अरुले गीतकार अनि समाजसेवी बाहेक के के भनेर चिन्छन उप्रेतीलाई त्यो कुरा म जान्दिन तर मैले उनीलाई केहि भिन्न तरिकाले चिन्न थालिसकेको छु । मैले यहाँ उप्रेतीको विषयमा मैले बुझेको कुरा लेख्दैछु । ४ महिनाको बसाईमा धेरै त बुझेको छैन होला तर, दिन रात उनीसंग गफ हुँदा अनि उनीसंगै विभिन्न कार्यक्रम अनि बैठकमा सहभागी हुँदा उनीलाई मैले धेर थोर बुझेको छु । म अमेरिका आएको एक हप्ताको बीचमा पहिलो चोटि फोन गरेर भेट्न अनुरोध गर्ने मान्छे थिए उप्रेती । मैले अरुबाट थाहा पाए कोलोराडोमा नाम चलेका मानिसहरुमध्ये उनको नाम नम्बर १ मा पर्छ भनेर । त्यस्ता मान्छेले सुरुमै मलाई फोन गरेर भेट्न अनुरोध गर्दा एक किसिमको भिन्न आनन्द लागेको थियो मलाई । पछि बुझे उनले करुणा नामक एउटा एल्बम बजारमा प्रकाशन गरेका रहेछन त्यहि एल्बमको प्रचार-प्रसार गर्न मसंग सहयोग माग्नको लागि फोन गरेका रहेछन भन्ने कुरा । 'उप्रेती प्रचारमुखी छन् । उनले जता त्यतै आफ्नो नाम आएको मात्र रुचाउछन' भन्नेहरु पनि भेटे मैले । प्रचार र यथार्थको बीचमा धेरै ठूलो खाडल छ । तर, इमान्दारीपुर्बक लेख्दैछु, उप्रेतीमा मैले त्यस्तो कुनै खाडल देखिन । उनी यथार्थ कुरालाई मात्र प्रचार गर्छन । सबैसँग हार्दिकताको साथ उनी सम्बन्ध बनाउँदा रहेछन । समाजमा फुट सिर्जना गर्ने व्यक्ती उप्रेती नै हुन् भनेको पनि सुने । जब कुनै व्यक्तिको व्यक्तित्व विकासमा सकारात्मक फड्को हान्ने परिस्थिति आउँछ, तब प्रायः नेपालीहरु बाल्मिकीलाई दृष्टान्तको रुपमा अघि सार्दछन् । रत्नाकर डाँकुबाट बाल्मिकी बनेको नेपाली किंवदन्तीले भन्छ, ‘कुनै पनि मानिसले आत्मसमीक्षा गरेर इतिहासका गल्तीहरु सच्चाउन सक्छ, जीवनलाई सत्कर्म र सफलताको मार्गमा समर्पित गर्न सक्छ ।’ विश्वमा यस्ता अनेकौं दृष्टान्तहरु छन्, जसले जीवनको पूर्वाद्धमा गरेका गल्तीहरु सच्चाएर आफूलाई अब्बल र उत्कृष्ट सावित गर्ने गरेका छन् । उप्रेतीले हरेक बैठकमा आफ्नो गल्तिहरु सच्चाइरहेका हुन्छन तर, उनी मात्र एक पात्र होइनन होला समाजमा फुट सिर्जना गर्ने तर उनीलाई रत्नाकार कसैले भन्दैन किन कि उनी अहिले वाल्मिक सहर भएका छन् । उनीमा सबैलाई मिलाउने विशेषता छ । उनी कसैसामू झुक्दैनन् अनि आफु भन्दा बाठो कोहि छैन भन्ने पनि सोच्दैनन् । समयको व्यवस्थापनमा उनी निकै सिपालु र छरितो छन् । उनी गीतकार त हुँदै हुन् । एक सफल मिडियामैत्री पनि हुन् । धेरै जसो मिडियामा म उनको समाचारहरु देखिरहेको हुन्छु । अन्य गीतकारहरु पनि गीत लेख्छन अनि गीत लेखिसके पछि उनीहरु चुपचाप बस्छन तर, उप्रेती त्यसो गर्दैनन् । आफुले लेखेको सिर्जनाको प्रचार गर्छन त्यो एक गीतकारले गर्नै पर्छ । उनको शब्दमा कति मिठास पाइन्छ त्यो त गीत सुन्नेहरुलाई राम्रोसंग थाहा होला । अर्को कुरा, समाजमा केहि गर्छु भन्नेहरुले उप्रेतीले अरुबाट नमस्ते पाएको खुब व्याख्या गर्छन । आफुहरुले पनि त्यहि नमस्ते कहिले पाउने भन्ने कुरा सोचिरहेको हुन्छन होला सायद ! उप्रेती सरल छन् जो संग पनि बोल्छन । उनी आफूलाई लागेको कुरा बोलिहाल्छन् । सबैलाई साथी ठान्छन्, जे देख्छन्, त्यो बोल्छन् । तर, बोलिसकेको कुराले अरुलाई कति असर पर्छ भन्ने कुराको हेक्का चाहि उनले सधै राख्दैनन् । कसैले औल्याएको उनको कमजोरीलाई सजिलै स्वीकार गर्छन तर , गल्ति कसको हो त्यो उनलाई मज्जाले थाहा भइरहेको हुन्छ । कुनै कार्यक्रम होस् या कुनै बैठक बोल्ने क्रममा कार्यक्रम प्रस्तोताले दिएको समयले उनलाई कहिले पुग्दैन उनी साँचो बोल्छन त्यो कुरा चाहि कहिले काही उनको सराथीहरुलाई अप्रिय लाग्छ पनि होला । तर, जब निस्वार्थ भावले जो कोहिले उप्रेतीसँग सहकार्य गर्छ, त्यो व्यक्ति उनीबाट प्रभावित भएरै छोड्छ अनि कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी भूटानी समुदायको विषयमा धेर थोर भित्री कुरा बुझ्छ । कतिपयले उप्रेतीलाई हावाको गफ गर्ने नेता भनेको पनि सुने तर त्यस्ता कुरामा सत्यता र दम कहिले हुँदैन । लुकेर त झिगाले पनि हात्तीलाई च्यालेन्ज दिन्छ भनेको सुन्थे ! त्यस्तै उनले विभिन्न संघ संस्थाको स्थापना गरेर सामाजिक उत्थानका निमित्त योगदान दिएको अनि धर्म, संस्कृति, भाषा साथै नेपाली पन जोगर्णको लागि गरेको योगदानको प्रशंसा उनीलाई मनै नपराउने मान्छेले पनि गरेको सुन्छु। एउटा कुरा चाहि अरुले हाम्रो पहिचाहन नेपाली भाषी भूटानी भने पनि उप्रेती चाहि हामी नेपाली मात्र हौ भन्छन त्यसमा मेरो कुरा नमिल्ला किन कि उनी नेपाली भाषी भूटानीको संघ संस्थाहरुको अध्यक्ष अनि उपाअध्यक्ष समेत भैसकेका हुन् । उप्रेतीको प्रगति देखेर आँखा चिम्मा पार्नेहरु त धेरै छन् होलान तर, तिनै आँखा चिम्मा पार्नेहरुको सहयोग बिना उप्रेती मात्रले गर्न चाहि त्यति धेरै ठुलो प्रगति केहि गर्न सक्दैनन । उप्रेती हाम्रो समाजका इस्टाकर हुन् उनले पाएको गोल त छिराएरै मात्र फर्किन्छन तर, उनलाई गोल पास दिने मिडफ़िल्डरहरुको एकदम जरुरी पर्छ । त्यस्ता मिडफ़िल्डरहरुको विषय अलिक पछि लेखौला !
अस्तु !