स्थानीय तहको निर्वाचनमा देशभर २० हजारभन्दा बढी मतदान बुथ
काठमाडौ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर २० हजारभन्दा बढी मतदान बुथ कायम गरिने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले सबै तयारी गरेरमात्रै निर्वाचन मिति घोषणा गरेको जानकारी दिए ।
सरकारले स्थानीय निर्वाचनमा दुई लाख ६० हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र निजामती गरी स्थानीय निर्वाचनमा दुई लाख ६० हजार सरकारी कर्मचारी परिचालन गर्ने तयारी गरिएको गृहमन्त्री निधिले जानकारी दिए । ‘स्थानीय निकायको निर्वाचन एकै दिन गराउन सक्दैन भन्ने हल्ला थियो,’ उनले भने, ‘सरकारले सबै थोकको जोहो र गुणा–भाग गरेर मात्रै निर्वाचन मिति घोषणा गरेको छ, ढुक्क हुनुस् चुनाव तोकिएकै मितिमा हुन्छ ।’
जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले स्थानीय निकायको चुनाव वैशाखमै गर्न लागेको हो । ‘सरकारको नीति तथा कार्यक्रम र बजेट जेठ १५ भित्रै सार्वजनिक गरिसक्नुपर्ने संवैधानिक बाध्यताले निर्वाचन वैशाखमै गर्नुपरेको हो,’ गृह मन्त्री निधिले भने,
संविधान संशोधनका विषय र निर्वाचनकै मिति घोषणा गर्नका लागि सोमबार नेपालकै इतिहासमा मन्त्रिपरिषद्को बैठक एकै दिन तीनपटक बसेको दाबी गर्दै मन्त्री निधिले भने, ‘निर्वाचन सम्बन्धित सबै काम फास्ट ट्र्याकमा पूरा गरेर चुनावको वातावरण र मिति तोकेका हौं ।’ स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनमा असन्तुष्टि जनाइरहेको प्रदेश नम्बर २ मा जनसंख्याका आधारमा बढाउनुपर्ने गाउँपालिकाको न्यूनतम संख्या र सीमांकनसमेत तोक्न सरकारले सात दिनभित्र प्रदिवेदन बुझाउन अर्को समितिसमेत बनाए ।
सोमबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ को ८ वटा जिल्लामा जनसंख्याको आधारमा थप्नुपर्ने गाउँपालिका र सीमांकनसमेत तोक्न टोली खटाइसकिएको उनले जानकारी दिए । गृहमन्त्री निधिले स्थानीय निर्वाचनका लागि असहमति जनाइरहेको मधेसी मोर्चाकै सल्लाहमा सरकारले चुनावको तयारी थालेको समेत बताए । ‘सबै कुरामा मधेसी मार्चासित सरसल्लाह गरेरै सरकार अगाडि बढेको हो,’ उनले भने, ‘आन्दोलनको कुरा नगर्नुस्, बेइमानी गरे पो, आन्दोलन१’
संविधान संशोधन र निर्वाचनका लागि मधेसी मोर्चाको सहयोग आवश्यक रहेको बताउँदै उनले सरकार संशोधनप्रति प्रतिबद्ध रहेको दाबी गरे । ‘संविधान संशोधन प्रक्रिया पनि अब सुरु हुन्छ, बाधक एमाले हो,’ उनले भने, ‘एमालेबाहेकको दुई तिहाइ पुर्याउन पनि सरकार प्रयासरत छ।’