बालकृष्ण ढुंगेलमाथी गरिएको फैसालामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आपत्ति |
काठमाडौं, । बालकृष्ण ढुङ्गेलको मुद्धामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आपत्ति जनाएको छ । जनयुद्धकालीन मुद्दा ब्युँझाएर बालकृष्ण ढुंगेलमाथि फैसला गरी सातदिने पक्राउपुर्जी समेत जारी गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
‘बृहत शान्तिसंझौताअनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फवाट तत्काल फिर्ता लिइनु पर्नेमा झण्डै दश वर्षवितिसक्दा पनि सो नभएको र सत्यनिरुपण मेल मिलाप गर्नका लागि भनी दुई ओटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यस अनुसार पनि नगरिएको यथार्थ स्पष्ट नै छ । यसरी बृहत् शान्ति संझौताको गंभीर उल्लघन हुँदा पनि त्यस प्रति राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय हो’, मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा जनयुद्धको नेतृत्वको एउटा हिस्सा सरकार प्रमुखमा आसीन भैरहनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ताहरु यसरी उत्पीडित बन्नु गंभीर चिन्ताको विषय भएको समेत उल्लेख गरिएको छ ।
वैद्यले बृहत शान्ति संझौता अनुरुप जनयुद्धकालीन मुद्दाहरुको अविलम्व खारेजी र बाँकी रहन गएका जनयुद्धकालीन मुद्दाहरुबारे उक्त आयोगहरु मार्फत् मेलमिलापको व्यवस्था गर्नका लागि नेपाल सरकारसित समेत माग गरेका छन् । बालकृष्ण ढुंगेललाई एक साता भित्र पक्राउ गर्न सरकारलाई आग्रह गरेको छ ।