आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ । गएराति १२ बजेबाट महानगरको १ वडाबाट मतगणना सुरु भएको थियो । उक्त वडामा दुई हजार ४६१ मतदाता रहेका छन् ।
जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।
गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी
यसैबीच गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।