Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘मतदाता कसैका पेवा हुँदैनन ।’ – ललित अधिकारी (प्रदेश सभाका लागि मोरङ १ ‘क’ बाट प्रत्यक्ष तर्फका आकांक्षी)


ललित अधिकारी । मोरङ कांग्रेसका लागि चिरपरिचित नाम हो । बिचारले कांग्रेस भएपनि सधैं राजनीति भन्दा माथि उठेर नागरिकका समस्याहरु सम्बोधनमा क्रियाशिल छन् उनी ।पार्टीलाई मात्र होइन, मन्दिर, विद्यालय , खेलकुद कार्यक्रमका लागि सहयोगका लागि पुग्ने जो कोही लाई अधिकारी खाली हात फर्काउँदैनन ।  बर्सेनि ठूलो अंकमा आर्थिक सहयोग गर्दै आएका  अधिकारी २०७० को संविधानसभा निर्वाचनमा तत्कालिन निर्वाचन क्षेत्र नं. – ९ मा कांग्रेसको झण्डा फहराउने अभियानका केही अब्बल कार्यकर्ता भित्र  पनि पर्छन । उनी स्वयं समानुपातिक उम्मेद्वार थिए । यद्यपि उनी सभासदको  सूचीमा परेनन । साबिक  क्षेत्र नं. ९ बाट महासमिति सदस्य जितेका अधिकारीले पार्टीको क्षेत्रीय सभापति, तरुण दल मोरङको उप सभापति लगायतका जिम्मेवारी सम्हालिसकेका छन्   ।
अढाई दशक अघिदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता जस्तै भएर राजनीति र
सामाजिक काममा ब्यस्त रहने ५१ वर्षीय अधिकारीले हालसम्म कुनै पनि आर्थिक लाभ हुने  सरकारी पद पाएका छैनन ।  गत स्थानीय निर्वाचनमा  कांग्रेस उम्मेद्वारलाई जिताउन तन मन र धनले सहयोग गरेका अधिकारी  आसन्न प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ ‘क’ बाट प्रत्यक्ष तर्फको उम्मेद्वार सिफारिस भएका छन् ।
हाल चर्चाको शिखरमा रहेका अधिकारीसँग  चुनावको विषयमा गरिएको कुराकानीको सार संक्षेपः

०प्रदेश सभाको टिकट प्राप्त गर्न निक्कै ठूलो सकस परिहेको छ नि ?
कांग्रेस ठूलो पार्टी हो । लोकतन्त्र र प्रजातन्त्रको रक्षक । सात दशकको इतिहास छ । नेता कार्यकर्ता कार्यकर्ता हरेक बर्ष बढ्छन । त्यसैले धेरै कार्यकर्ता आकांक्षी भएका हुन । राजनीतिमा  कोही जोगी बन्न लागेका हुँदैनन । प्रतिस्पर्धाका बीच पनि हामीले सहमति र सहकार्य कै आधारमा उम्मेदवार चयन गर्नेछौं ।  सुरुमा पार्टीमा सामान्य अन्तर बिरोध देखिए पनि केन्द्रले जसलाई उम्मेद्वार बनाए पनि हामी एक जुट भएर लाग्ने छौं ।
० उम्मेदवार बन्न भन्दा चुनाव जित्न गाह्रो होला नि , आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग के भनेर मत माग्नु हुन्छ ?
पक्कै पनि  । चुनावमा गएपछि हार जीत स्वाभाविकै हो ।तर हामी हार्ने गरी चुनाबी अभियानमा लागेका छैनौं । हामीसँग तत्काल गर्ने ,पाँच वर्ष भित्र गर्ने र १० वर्ष भित्र गर्ने विकास निर्माणको स्पष्ट खाका छ । खास गरी मैले राजनीतिबाटै आर्थिक समृद्धिको सपना देखेको छु । यो निर्वाचन क्षेत्रका नागरिकलाई  थाहा छ , ललित अधिकारीले  कहिलै कुनै संघ संस्था वा विकासे समितिमा बसेर लाभको पद लिएको छैन । कम्युनिष्ट पार्टीमा जस्तै गरी पूर्णकालीन कार्यकर्ता भएर राजनीतिक संगठनमा काम गरेको छु । यहाँ मैले जे जे समस्या देखेको छु ति समस्या पहिले सम्बोधन गर्छु ।
० तपाईले देखेका समस्या के के हुन नि ? 
विपक्षीदलका साथीहरुले जनतालाई धेरै अघि देखि यहाँका समस्या र विकासे कामको उधारा सपना देखाएर आफूले  नाफा गरेका छन् अव म त्यसो हुन दिन्न ।
मैले चुनाव जित्नासाथ पहिलो नम्बरमा राजनीतिक  पहुँच नपुगे कै कारण सरकारी सेवाबाट बञ्चितहरूलाई राज्यका सेवा सुविधाको पहुँचमा पु¥याउने छु ।  मत माग्न जाँदा सयौंले मलाई नागरिकता छैन, भनिरहेका छन् । छोराको नागरिकता छ, आमाको छैन, श्रीमानको छ , श्रीमतिको छैन् । बंशजको नागरिकता भएकाले पनि नागरिकता नभए कै कारण राज्यले दिने बृद्धभत्ता औषधि उपचारमा छुट लिन सकेका छैनन । मतदान गर्ने अधिकारबाट बञ्चित छन् ।त्यसैले एक नम्बरमा नगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरी नागरिकता टोली गाउँ–गाउँमा पु¥याउने छु । हाम्रो निर्वाचन क्षेत्रमा सडक ,सञ्चार , स्वास्थ्य ,शिक्षाको पहुँच पुगेको छैन । यसका लागि तत्काल योजना बनाएर काम सुरु गर्ने छु । खानेपानीको पहुँच नपुगेको स्थानमा खानेपानी विस्तार गरिने छ । पूर्वमा मावा र पश्चिममा बक्राहाले सयौंलाई उठिवास लगाएको छ । नदी कटान रोक्न तत्काल पहल सुरु गर्नेछु । तर यो समस्याको स्थायी समाधान दीर्घकालिक कार्यक्रम अन्तरगत विज्ञहरूको सुझाव लिएर गर्नेछु ।
०पाँच वर्षे कार्यक्रम अन्तरगत  कुन कुन योजना परेका छन् ।  
जथाभावि घर, भवन र सपिङ मल निर्माण हुँदा यस क्षेत्रका गाउँ शहरहरू कुरुप भइसकेका छन । त्यसका लागि निश्चित मापदण्ड तयार गर्न नगरपालिका र गाउँपालिकासँग समन्वय गरिने छ ।  कम्तीमा दमकल पूगेर सजिलै फर्किने गरीको सडकको ब्यवस्था नगरि प्लटिङ गर्न दिइने छैन । खेती योग्य जग्गामा प्लानिङ गर्ने कार्य रोकिने छ ।  भूगोल र माटो अनुशार किसानलाई खेतीको प्रवन्ध मिलाइने छ । उर्लाबारीमा मौरीपालन,च्याउखेती  र तरकारी खेतीको सम्भावना देखिएको छ । राजघाटमा दूग्ध ब्यवसायको सम्भावना छ । मिक्लाजुङमा पर्यटन उद्योगको सम्भावना छ । मिक्लाजुङमा होम स्टेको राम्रो सम्भावना देखिएको छ । यसका लागि अलग अलग जोन को ब्यवस्था मिलाइने छ । भारतीय सीमासँग जोडिएको बरडंगादेखि आम्बारी,इटहरा,उर्लाबारी मधुमल्ला हुँदै रबि जोड्ने सडक यस क्षेत्रको विकासको मुख्य कडी हो । यस निर्वाचन क्षेत्रको विकासका लागि यो सडकले पाँचथरको रविसँग भारतलाई जोड्न सके उर्लाबारी ब्यापारीक हवका रुपमा विकसित हुँनेछ । पञ्चायतको पालादेखि हरेक चुनावमा यो सडक निर्माणको मुद्धा आउने गरेको छ । तर नागरिकले सपना मात्र देखेका छन् आज सम्म  । यो सडकलाई कालोपत्रे गरी भारतसँग जोड्न सके हाम्रो परनिर्भरता घट्ने छ । 


०दश वर्षे कार्यक्रम अन्तरगत  कुन कुन योजनालाई राख्नु भएको छ ।
–हेर्नुस , काम त सभासद हुने बित्तिकै गर्न मन लाग्ला नि, तर हामी कहाँ सिमित स्रोत साधन हुन्छ । हामी संघीयता कार्यान्वयनको प्राथमिक चरणमा छौं । केही दिन अघि मात्र प्रदेश सभाको काम कर्तव्य सम्बन्धि ऐन तयार भएको छ । क्षेत्राधिकार तोकिएला , प्रदेश – नगर  र गाउँको सम्बन्ध कस्तो हुने त्यो विषय अझै आइ सकेको छैन । यद्यपि हाम्रो निर्वाचन क्षेत्रमा रहेकोे मंगलबारे अस्पताललाई स्रोत सम्पन्न बनाइने छ ।   उर्लाबारीलाई दुख दिने पूर्व र पश्चिमका खोलाको स्थायी तटबन्ध गरिनेछ ।

० निक्कै महत्वकांक्षी योजना छन, कार्यान्वयनमा कठिनाई हुन्न ?
 मैले अघि नै भने स्रोत साधन सिमित छ भनेर ।  सपना नै नदेख्ने हो भने फेरि पनि उर्लाबारीको मुहार फेरिन्न ? तर यो सपना मात्र होइन, यहाँ मतदातालाई विश्वास दिलाउँछु ।   चीनलाई विकासको मार्गमा ल्याउने नेताको रूपमा देङ सियाओ पिङ, सिंगापुरमा ली क्वान यु, मलेसियामा महाथिर मोहम्मदको नाम लिने गरिन्छ । उनीहरूले सपना देखेकै कारण आज चिनीयाँ,सिंगापुरे र मलेसियनहरू समृद्ध बने । अझ २२ बर्ष द्वन्द्वमा फसेको रुवान्डालाई ५÷७ वर्षमा पल कगामेले काँचुली फेराएका छन् । असम्भव केही देख्दिन, पल कगामेले  मानव कंकाल माथि समृद्ध शहर बसाए भने हामीले नसक्ने कुरै भएन । हामी कहाँ केही बिग्रेको छैन । मात्र ईच्छाशक्ति चाहिन्छ । 
,
० प्रसंग बदलौं ,चुनाव त महँगो हुन थाल्यो भन्छन नि ,कति खर्च छुट्याउनु भएको छ ?

 – खर्च छुट्याउने भन्ने कुरै आउँदैन । कसैले विरामी हुन्छु भनेर खर्च छुट्याउँदैन, नत उम्मेद्वार बन्छु भनेर नै  । मैले यसलाई नियमित आकस्मिकताको रुपमा मात्र लिएको छु ।  चुनाव खर्चिलो मँहगो जे भएपनि समय अनुसार चल्नुपर्छ । हिजो चिठ्ठी बोकेर हिड्ने युग थियो । साइकलमा चढेर हिड्ने जमाना थियो । समयसँगै चुनावको प्रचार प्रसारको प्रकृति बदलिएको छ । हिजो चिउरा ,चाम्रे खाजा खाने चलन थियो, आज खाजाको रुप र रंग बदलिएको छ । त्यही भएर खर्च केही बढी हुने देखिएको छ । यद्यपी कार्यकर्ता,साथीभाइ र दिदी वहिनीहरूको सद्भाव  र सहयोगले चुनावलाई चलायमान बनाउने तयारी गरेको छु । पहिले टिकट पाउनु प¥यो खर्च त्यस पछिको कुरा हो ।  चुनाव सकिएपछि खर्च सार्वजनिक गरौला ।
० यो निर्वाचन क्षेत्र त  एमालेको ‘गढ’ भन्छन नि ? यस्तो ठाउँमा चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
–गढ, पकेट क्षेत्र भनेको स्थायी रुपमा रहने विषय होइन । हो, यस अघि २०४९ र २०५४ स्थानीय चुनाबमा एमालेले  चुनाव जितेकै हो । तर संविधानसभा २०६४ मा एमाओवादीले  जित्यो । २०७० मा हामीले जित्यौं ,फेरि स्थानीय तह निर्वाचनमा उर्लाबारी हामीले जित्यौं, मिक्लाजुङ थोरै भोटले गुमायौं । नेता त हामी कहाँ स्थिर छैनन् , मतदाता कसैका पेवा हुने कुरै भएन । दुई किलो चिनी र जिरा मसला किन्न भारतको जोगवनी र पानीट्याङ्की धाउने अनि चोकमा बसेर राष्ट्रवादी कुरा गर्ने विपक्षी साथीहरूको नियत मतदाताले बुझिसकेका छन् । एमालेको माछा हुँदा दुलो भित्र हात, सर्प हुँदा दूलो बाहिर हात प्रवृति छ । यो क्षेत्रका मतदाता  कसैको खल्तीमा राखेको सुपारीका टुक्रा होइनन, ता कि चाहेको बेला निकालेर कुटुक्क पार्न पाइयोस । जिताउने जिम्मा पार्टीको हातमा मात्र छैन । कुल मतदाताको २० प्रतिशत विभिन्न पार्टीका कार्यकर्ता होलान ,बाँकी त स्वतन्त्र ब्यक्ति छन । जनताले अब भरोसा खोजेका छन्,कांग्रेससँग ।  त्यो हामी दिन सक्छौं भन्ने मेरो दावी हो । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक संघीय संसदको चुनाव हुँदैछ । परिवर्तन पछिका युवाहरू बिगत भन्दा पनि भविष्य कसरी सुरक्षित हुन्छ भन्ने सोचिरहेका छन् । ति युवाहरू कांग्रेसको पक्षमा मतदान गर्न पर्खिरहेका छन्  भन्ने कुरा अहिलेको जनलहरले देखाइरहेको छ ।
०अब त बाम गठबन्धन भएको छ , चुनाव जित्न गाह्रो हुँदैन ?
–बाम गठबन्धनले केही अप्ठ्यारो होला , तर यो एकता तल्लो स्तरका कार्यकर्ता लेवलमा भएको एकता होइन । अलि बढी मेहनत गर्नुपर्ला तर चुनाब कांग्रेसले जित्ने पक्का हो ।
० सभासद हुनु भयो भने   पहिलो काम के गर्नुहुन्छ ?
–यो अलि कन्ट्रोभर्सि प्रश्न भयो , मैले अघि जुन जुन कुरालाई प्राथमिकताका आधारमा राखें ति कामलाई पुरा गर्नेछु ।
० अन्त्यमा केही ?
राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा छोडौं । विचारमा प्रष्टता,संगठनमा प्रतिवद्धता र नेतृत्वमा एकरुपता देखाउन सके मात्र देश आर्थिक समृद्धि तिर लाग्छ । सहिदको सपना साकार हुन सक्छ । शासन विधिको हुनुपर्छ । विधिको शासन थालनी भयो भने साना तिना समस्याले विकास र रोजगारी सिर्जनामा कुनै असर पार्न सक्दैन । मेरा विचार राख्ने अवशर दिनुभएकोमा धन्यवाद ।
                                                प्रस्तुति – हरि कोइराला

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget