काठमाडौँ– नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ २ बाट उठाउने निश्चित गरिसके पनि नेता मिनेन्द्र रिजाल आफ्नो क्षेत्रका मतदाता भेट्न जान पाएका छैनन्।
उनी राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमसँग तालमेलको वार्तामा व्यस्त भएपछि चुनावी कमान्ड सम्हाल्न पत्नी दुर्गा निर्वाचन क्षेत्र पुगेकी छन्।
मोरङ २ बाट टिकट पाउने निश्चित भएपछि रिजाल आफैं त्यहाँ जान चाहन्थे, तर उनलाई पार्टीले राजपा र फोरमसँगको चुनावी तालमेल कार्यदलमा राख्यो। ‘उहाँ रिजाल पार्टीको कामले व्यस्त हुनुभएकाले उहाँको तर्फबाट चुनावी क्षेत्रका मतदाता भेट्न म आएँ,’ दुर्गाले शुक्रबार सेतोपाटीसँग भनिन्।
‘हाम्रा लागि यो चुनावी क्षेत्र नयाँ ठाउँ हो। यहाँबाट उठ्ने निश्चित भए पनि उहाँ पार्टीको कार्यव्यस्तताले आउन पाउनुभएन। उहाँको सट्टा कोही त आउनुपर्यो नि,’ उनले भनिन्, ‘यहाँका मतदातालाई उहाँको उपस्थितिको विश्वास दिलाउन सक्छु भनेर म आएकी हुँ।’
दुर्गा साता दिनयता यो क्षेत्रमा गएर खटेकी छन्। राजधानीको एपेक्स कलेज सञ्चालक समितिमा रहेकी उनी पेसाले शिक्षक हुन्। उनी त्यही कलेजमा एमबिएलाई ‘अर्गनाइजेसन बिहेभियर’ पढाउँछिन्।
श्रीमानको चुनावी क्षेत्रमा आएर मतदाता भेटेपछि आफू उत्साहित भएको उनले बताइन्।
‘म निकै एक्साइटेड छु। रमाइलो पनि लागिरहेको छ। यहाँ आएर धेरै गाउँहरुमा गएँ। महिला मतदातालाई भेटेँ, उनीहरुका सुखदुस्ख बुझ्ने कोशिस गरेँ। उनीहरुका समस्या बुझ्न र आफूले देखेका अरु समस्याबारे म मिनेन्द्रजीलाई पक्कै सुझाव दिने छु,’ उनले भनिन्।
दुर्गा २०३६ सालतिर पद्मकन्या कलेजकी नेविसंघ नेता थिइन्। त्यो बेला रिजाल नेविसंघका केन्द्रीय उपाध्यक्ष थिए। विवाहपछि मिनेन्द्र राजनीतिमा लागेको र आफूले शिक्षण पेसा अपनाएको उनले बताइन्।
आफूले पनि विद्यार्थीकालमा राजनीति गरेकाले राजनीतिक गतिविधिमा रुचि भएको उनको भनाइ छ।
रिजालले टिकट पाएको निर्वाचन क्षेत्रमा विराटनगर महानगर पर्छ। यहाँबाट स्थानीय तह चुनावमा कांग्रेसका मेयरले जितेका थिए। उनको क्षेत्रमा वाम गठबन्धनलाई स्थानीय तहमा आएको मत कांग्रेसको भन्दा पाँच(सात हजार बढी हुन्छ। त्यो मत आफूतिर तान्न रिजालले अहिल्यैदेखि चुनावी क्षेत्रमै गएर काम गर्न चाहेका थिए। पार्टीले उनलाई संसदीय समितिमा राखेपछि भने उनी चुनाव क्षेत्र जान नभ्याएका हुन्। nari khabar bat