लेटाङमा हात्तीपाइलेको औषधि खुवाईदै
प्रशान्त निरौला
लेटाङ ९ फागुन । सरकारले हात्तीपाइलेको जोखिमयुक्त २४ जिल्लाका ९१ लाख ५४ हजार जनसंख्यालाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने भए सङै लेटाङ नगरपालिकामा पनि औषधि खुवाईने भएको छ । आज बिहान लेटाङ नगरपालिका वडा नम्बर ३का अध्यक्ष देवराज चाम्लिङको अध्यक्षतामा लेटाङ ३ भरीका राजनीतिक दल , समाजसेवी , बुद्दिजिवी , बिध्यार्थि लगायतहरुसङको अन्तरक्रियामा नगरपालिकाका स्वास्थ शाखाका कर्मचारीद्वारा उक्त कुराको जानकारी दिईएको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही फागुन १२ देखि १४ गतेसम्म तीन दिने आम औषधि वितरण कार्यक्रम गर्न लागेको हो।
महाशाखाको तथ्यांक अनुसार नेपालमा अहिले हात्तीपाइलेका ३० हजार बिरामी छन्। यो रोगका कारण कतिपय अपांग भएका छन् भने धेरैमा हाइड्रोसिलको समस्या पनि देखिएको छ । यसका साथै महिलामा स्तन सुन्निने समस्या पनि देखिएको छ।
महाशाखाका निर्देशक डा भिम आचार्यका अनुसार वर्षमा एक पटकका दरले ६ वर्षसम्म यो रोगको औषधि खानुपर्ने हुन्छ । ‘यो औषधि ढुक्कसँग सेवन गर्दा हुन्छ,’ उनले भने, ‘औषधि सेवनपछि केहीमा भने सामान्य साइडइफेक्ट हुनसक्छ ।’
सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोग उन्मुलन गर्ने लक्ष्यका साथ नेपालमा सन् २००३ देखि निःशुल्क औषधि वितरण हुँदै आएको छ। दुई वर्ष नपुगेका बालबालिका, गर्भवती महिला एवं दीर्घरोगीलाई भने औषधि खुवाउन नहुने डा. आचार्य बताउँछन्।
नेपालमा सुरुको तथ्याकं हेर्ने हो भने ६१ जिल्लामा यो रोगको जोखीम थियो । सन् २००३ बाट आम औषधि सेवन कार्यक्रम सुरु भएदेखि हालसम्म ३७ जिल्लामा यो रोग निवारण भैसकेको छ।