कावासोती, १७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार मत माग्न घर–घरमा पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले आजदेखि घरदैलोलाई अगाडि बढाएका छन् ।

आज बिहानै कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइराला मत माग्दै कावासोती नगरपालिकाको वडा नं ८ र २ मा पुग्नुभयो । कोइरालाले निर्वाचन आयोगको निर्देशनानुसार आजदेखि घरदैलो सुरु गर्नुभएको हो । कांग्रेस पूर्वी नवलपरासीका उपसभापति बालकृष्ण घिमिरेले उम्मेदवारहरू प्रचार–प्रसार तथा भेटघाटमा व्यस्त रहेको बताउनुभयो ।

एमालेले पनि आजदेखि घरदैलो अभियानलाई अगाडि बढाएको एमाले पूर्वी नवलपरासीका प्रचार विभाग प्रमुख सागर पोख्रेलले बताउनुभयो । एमालेबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका कृष्ण पौडेलले जिल्लाको बुलिङ्टारबाट घरदैलो अभियान सुरु गरेको पोख्रेलले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ मा कांग्रेसका डा कोइराला, एमालेका पौडेल, राप्रपाबाट डा मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतमसहितका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

पूर्वी नवलपरासीमा सत्ता गठबन्धनका दलहरूका उम्मेदवारसँगसँगै कार्यक्रममा हिँडेका छन् । दुई प्रतिनिधसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा गठबन्धनबाट प्रतिनिधिसभा दुवै क्षेत्रमा नेपाली कांग्रेसले र प्रदेशसभातर्फ दुईवटामा माओवादी र एक–एक वटामा नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०ले उम्मेदवारी दिएका छन् ।

जिल्लाको क्षेत्र नं २ का उम्मेदवारले पनि बुधबारदेखि घरदैलोलाई अगाडि बढाएका छन् । यो क्षेत्रमा एमालेबाट तिलबहादुर महत, कांग्रेसका विष्णुकुमार कार्की, राप्रपाका विष्णु अधिकारीसहितका उम्मेदवारले आफ्ना एजेण्डासहित घरदैलो सुरु गरेका छन् ।रासस

तपाईको प्रतिक्रिया