विराटनगर , १९ पुस ।  विराटनगर महानगरपालिकाले अपाङ्गता एवं विपन्न व्यक्तिका लागि सहायक सामग्री वितरण गरेको छ । विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सहायक सामग्री वितरण सुरु गर्नु भयो । महानगरले १९ वटै वडामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने योजना बनाएको छ । सोही योजनाअनुसार आजदेखि वितरण सुरु गरिएको हो । प्रदेश–१ सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको सहकार्यमा महानगरले ह्वील चियर, ह्वाइलेट चियर, सिपी चियर, वाकर वितरण गरेको छ । कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, १० नम्बर वडाका अध्यक्ष अर्जुन गिरी, वडा सदस्य अञ्जु दाहाल, महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिलगायतले सहायक सामग्री वितरण गर्नु भएको थियो । १ देखि १९ नम्बर वडाका ११० जना अपाङ्गता तथा विपन्न व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया