काठमाडौँ, १७ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपाललाई भारत सरकारले ८० स्करपियो गाडी प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारीसाधनको साङ्केतिक साँचो हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताउनुभयो । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उहाँले भारत सरकारले विभिन्न समयमा दिएको सवारीसाधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले उक्त सहयोग प्रदान गरेको बताउनुभयो । छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उहाँले भारत सरकारले दिएको सहयोगले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।