उर्लाबारी, १९ कार्तिक। उर्लाबारीका ९ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको हो ।
जसका लागि आज नगरपालिकामा मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया तथा मतदाता शिक्षा स्वयंसेवकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा सचिव र महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।
मतदाता शिक्षा कार्यक्रमका अनुगमन अधिकृत विकास दाहालका अनुसार वडामा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि वडामै कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरू मध्येबाट न्युनतम एसईई उत्तीर्ण गरेका एक जनालाई तोकिएको छ । प्रत्येक वडामा खटिएका एक/एक जना स्वयंसेविकाले भोलिबाटै समुदायस्तरमा मतदाता शिक्षा प्रदान गर्ने दाहालले बताए । यो कार्यमा सम्बन्धित वडाका सचिवको पनि समन्वयकारी भूमिका रहने बताइएको छ । खटाइएका स्वयंसेविका घरदैलोसम्म पुगेर मतदातालाई आवश्यक सूचना र सन्देश प्रदान गर्ने, निर्वाचन कार्यालयबाट प्राप्त भएका पर्चा, पोष्टर, ब्रोसर लगायतका मतदाता शिक्षा सामग्री वितरण तथा टाँस गर्ने कार्य गर्नेछन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मत बदर कम गराउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । नगर उपप्रमुख मीना खतिवडा पौडेलले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजनीतिक दल, सरोकारवाला तथा मतदाता सबैको उत्तिकै भूमिका रहने बताइन् ।

तपाईको प्रतिक्रिया